थाइल्यान्ड- सात समुद्रपारिको भव्य जीवनशैलीमा रमाए पनि आफ्नो जन्मभूमि र मातृभूमिको अगाध प्रेमलाई कसले बिर्सन सक्छ र! जति टाढा भयो राष्ट्रप्रेमप्रतिको मोह उति नै उर्लिएर आउँछ। चाहे त्यो राष्ट्रिय झन्डामा होस् या राष्ट्रभाषामा। या विश्वले नेपालको पहिचान गर्ने सगरमाथामा नै किन नहोस्।
नेपालीहरु नपुगेको देश सायदै होला। थाइल्यान्डका नेपालीहरु भने नेपाली भाषा लोप हुन नदिन आफ्ना सन्ततिलाई कखरा सिकाइरहेका छन्।
पितापुर्खाले बोल्दै आएको नेपाली भाषा संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्न यहाँका नेपालीभाषीहरुले आफ्ना नानीबाबुहरुलाई नेपाली भाषाको ज्ञान दिन थालेका हुन्। नियमित विद्यालय बिदा भएको समयमा पाठशाला नै सञ्चालन गरेर उनीहरुले नेपाली भाषा र साहित्यको अध्ययन गराउँदै आएका हुन्।
नेपाली भाषा पाठशाला सञ्चालन गर्ने कार्य थाई नेपाली संघको अगुवाइमा भएको हो। पितापुर्खाले बोल्ने भाषा भावी पुस्तामा लोप नहोस् भन्दै संघले आफ्ना छोरा–छोरीलाई यस्तो पाठशाला सञ्चालन गर्दै आएको थाई नेपाली संघका अध्यक्ष कुमार कार्की बताउँछन्।
नेपाली भाषा अध्ययन सहज र व्यवस्थित गर्नका लागि संघले अलग्गै भाषा विभागसमेत गठन गरेको छ। हरेक वर्षझैं यो वर्ष पनि मार्च १२ देखि नेपाली भाषा कक्षा सञ्चालनमा आएको छ।
हाल श्रीपोट र सियक बानखेकमा नेपाली भाषा पाठशाला सुरु भएको शिक्षा विभागका सचिव दीपक पराजुलीले बताए। 'मार्च १९ देखि अन्य पाठशालामा पनि पढाइ सुरु गर्ने तयारीमा छौं,' उनले भने, 'यो वर्ष संघले २० स्थानमा यस्ता पाठशाला सञ्चालन गर्दैछ।'
हालै सम्पन्न संघको पहिलो वार्षिकोत्सवले नेपाली भाषा अध्ययनको दायरा फराकिलो पार्दै जाने निर्णय गरेको थियो। संघले नेपाली भाषा-साहित्यलाई स्नातकसम्म लागू गराउने लक्ष्यसमेत तय गरेको छ। गत वर्ष नेपाली भाषा पाठशालामा ५ सय विद्यार्थीले भाग लिएका थिए। यो वर्ष पनि सोही संख्यामा विद्यार्थी हुने अनुमान गरिएको सचिव पराजुलीले बताए। 'पाठशालामा बर्मा आएका र थाई बसोबास गर्दै आएका थाई भाषा पढ्ने विद्यार्थी पनि समावेश हुनेछन्,' उनले भने। नेपाली कक्षा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। मार्चदेखि मे १५ सम्म यस्तो पाठशाला सञ्चालन हुने उनले बताए।
संघले नेपालको सामुदायिक विद्यालयका लागि सरकारले प्रकाशन गरेका पाठ्यक्रम अध्ययन गराउने गरेको छ। पराजुलीका अनुसार १-५ कक्षाका विद्यार्थीका लागि जनक शिक्षाको पिडिएफ डाउनलोड गरेर र ६-१० कक्षाका विद्यार्थीका लागि नेपालबाट पाठ्यपुस्तक मगाएर अध्ययन गराउने गरिएको छ।
१२ वर्षदेखि भाषा संरक्षण अभियान
थाइल्यान्डमा यसरी नेपाली भाषाको अध्ययन सुरु भएको १२ वर्ष पुगेको छ। थाई नेपाली संघ स्थापना हुनुअघि छिटपुट रुपमा नेपाली पाठशाला सञ्चालन हुँदै आएका थिए। तर संघको स्थापना भएपछि अनिवार्य रुपमा यसलाई लागू गरिएको हो।
राजधानी बैंककमा रहेका १० विद्यालयबाट कक्षा २ देखि माथिका सबै विद्यार्थीहरुलाई एकै स्थानमा भेला गराएर परीक्षा लिइने चलन रहेको छ। अन्य स्थानमा भने सम्बन्धित पाठशालामै परीक्षा सञ्चालन हुने गरेको छ। यसरी परीक्षामा समावेश भएका विद्यार्थीहरुबाट उत्कृष्ट हुनेलाई शिक्षा दिवस कार्यक्रममा सम्मान गर्ने गरिएको छ। यस्तै कक्षा २ देखिमाथिका उत्कृष्ट विद्यार्थीहरुको समेत घोषणा गरिन्छ। त्यसपछि उनीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम दिइन्छ।
अप्रिल ७ देखि १३ तारिखसम्म नेतृत्व विकासको तालिम सञ्चालन गर्ने गरिएको छ। यो वर्षदेखि थाइल्यान्डस्थित नेपाली राजदूतावासले पनि नेपाली भाषा अभियानमा चासो दिएको छ। दूतावासले शिविरको मौकामा यस पटक हाजिरीजवाफ कार्यक्रम राखेको छ। प्रत्येक वर्ष यसलाई निरन्तरता दिने तयारी दूतावासको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।