काठमाडौं– बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजहाँ कमालले नेपाली अधिकारीसँग युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाको विषयमा विस्तृत जानकारी लिएका छन्।
मंगलबार दिउँसो काठमाडौं आएका मन्त्री कमालले होटल याक एन्ड यतीमा साँझ नेपाली पक्षसँग भएको छलफलमा विमानको ‘साउन्ड रेकर्ड’ सार्वजनिक भएको विषयमा चासो राखेका थिए।
उनले ‘साउन्ड रेकर्ड’ छिटै सार्वजनिक भएको भन्दै यो विषय पनि अनुसन्धानको दायरामा पर्नुपर्ने उल्लेख गरे।
करिब २ घन्टा चलेको छलफलमा नेपालको तर्फबाट सांस्कृतिक तथा उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाली सेनाका प्रतिनिधि निरजप्रताप जबरा लगायतको सहभागिता थियो। छलफलमा बंगलादेशको अनुसन्धान विभागका अधिकारी पनि सहभागी थिए।
छलफलमा विमान अवतरण गर्दा भएको गडबडीदेखि उद्धार, उपचार लगायत विस्तुत जानकारी मन्त्री कमललाई नेपाली पक्षले गराएको महानिर्देशक गौतमले नेपाल लाइभलाई बताए।
नेपाली पक्षसँगको छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै बंगलादेशी मन्त्री कमालले दुर्घटनाका विविध विषयमा कुरा भएको जानकारी दिए। उनले बुधबार अस्पतालमा उपचाररत आफ्ना देशका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली सेनाका प्रमुखसँग भेट हुने पनि जानकारी गराए।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएकोमा त्यसमध्ये २८ जना बंगलादेशी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।