काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन्। मुख्य अभियुक्तहरुलाई सहयोग गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले राजकुमार साह, सूर्य बाजी र श्याम गुप्तालाई पक्राउ गरेको छ। उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जनाएको छ।
उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको छ। घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो।
घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित ६ जना पक्राउ परिसकेका छन्। छानबिन समितिले हत्यामा प्रत्यक्ष संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिसकेको छ। त्यस्तै, घटनामा प्रयोग भएको पेस्तोलसहित बसन्त थेवे र धनराज योङहाङलाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन्।
घटनामा सहयोगी भूमिका खेल्ने थप तीन जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। योजनाकार समूहमा रहेका मनोज पुन, गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन्। त्यस्तै, समिरका निकट व्यक्तिहरु रोशन बुढाथोकी र लोप्साङ लामा लगायत पनि फरार छन्। उनीहरुलाई फरार अभियुक्त बनाएर मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
३० वर्ष कैद सजाय माग
गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैद सजायको मागदाबीसहित प्रहरीले मंगलबार अनुसन्धान प्रतिवेदन बुझासकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो। शुक्रबार अभियुक्तहरु विरुद्ध मुद्दा दर्ता हुँदै छ।
प्रहरीले संगठित अपराध र कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको डिएसपी बेलबहादुर पाण्डेले बताए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष र संगठित अपराध मुद्दामा थप १० वर्ष गरी सबै अभियुक्तलाई ३० वर्ष कैद सजायको माग गरिएको छ।
हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा निर्माण व्यवसायी गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका छन्। डाँफे कन्ट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।