काठमाडौं– एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। अहिले नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ।
नेपालले ४५ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २४२ रन बनाएको छ।
नेपालका लागि अनिल कुमार साह सतक बनाउन चुके। उनी ९१ रनमा आउट भए। ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए। अहिले प्रनित थापामगर र रोहित पौडेल बनाएर खेलिरहेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।
ओपनर मोहमद आसिफ शेख २१ रन बनाएर आउट भएका छन्। उनले ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
आइतबारदेखि मलेसियामा प्रतियोगिता सुरु भएको थियो। नेपालका लागि यो प्रतियोगिता जित्ने सुनौलो अवसर छ।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले ब्याटिङलाई परीक्षण गर्ने मौकाको रुपमा लिएको छ। ब्याटिङमा सुधार आएको दाबी गरेका नेपाली टोलीका प्रशिक्षक विनोद दास ब्याटिङलाई परीक्षण गर्ने योजनामा छन्। प्रशिक्षक दासले प्रतियोगितामा मलेसिया र सिंगापुरलाई बलियो टोली मानेका छन्। दुबै टोलीलाई नेपालले विश्वकप छनोटमा सजिलै पराजित गरेको थियो।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।
लाइभ हेर्न यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।