काठमाडौं- 'हामी कवि र कविता'को असार शृंखलामा कविद्वय भुवनहरि सिग्देल र पुरुषोत्तम आचार्यले आफ्ना कविता सुनाए। सर्वनाम थिएटरमा आइतबार आयोजित कार्यक्रममा छन्द कविताको पहिचान बनाएका कविद्वय प्रस्तुत भएका हुन्।
कविताको पहिलो चरणमा सिग्देलले श्रीमान् लिंग परिवर्तन गरौँ, यी फुलेका जवानी, सहरिया, आज निरोको भाषण छ लगायत कविता वाचन गरे। सिग्देलले बुढेकालको अनुभूतिदेखि नेता र नेतृत्वको कटाक्षदेखि बोका विम्बको व्यंग्यात्मक कवितासमेत सुनाए।
त्यस्तै दोस्रो चरणमा आचार्यले रातो मुकुण्डो, योगमायाको प्रश्न मिस नेपाललाई, काठमाडौंलाई प्रश्न गरि करिब एक दर्जन कविता सुनाए।
'हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं' भन्ने नाराका साथ सुरु भएको हामी कवि र कविता हरेक महिनाको १ गते नियमित रुपमा सर्वनाम थिएटरमा सञ्चालन हुँदै आएको छ। ६९औं शृंखला पूरा गरेको कार्यक्रमलाई सर्वनाम र श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले आयोजना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।