काठमाडौं– एसिसी यू-१९ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले सोमबार बिहान थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले ब्याटिङलाई परीक्षण गर्ने मौकाको रुपमा लिएको छ। ब्याटिङमा सुधार आएको दाबी गरेका नेपाली टोलीका प्रशिक्षक विनोद दास सोमबार ब्याटिङलाई परीक्षण गर्ने योजना छन्।
‘हामीले ब्याटिङमा धेरै मिहेनत गरेका छौं,’ दासले भने, ‘आसा छ, राम्रो ब्याटिङ गरेर जितबाट प्रतियोगिताको सुरुवात गर्नेछौं।’
दुई महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालको ब्याटिङ जम्न सकेन। खराब ब्याटिङपछि युवा विश्वकपमा छनोट हुन असफल नेपालले पछिल्लो एक महिना ब्याटिङ सुधारमा समय खर्चिएको छ। ब्याटिङ सुधारकै लागि भारतीय प्रशिक्षक मोन्टी देसाइ एक साता नेपाल आएका थिए।
सिनियर टोलीसँग खेलिएका अभ्यास खेलमा पनि नेपालले उत्कृष्ट ब्याटिङ गरेको प्रशिक्षक दासको भनाइ छ।
अर्काेतर्फ पहिलो खेलमा नेपालले तुलनात्मक कमजोर प्रतिद्वन्द्वी पाएकाले पनि ब्याटिङमा परीक्षण गर्ने मौका पाएको हो। प्रशिक्षक दासले प्रतियोगितामा मलेसिया र सिंगापुरलाई बलियो टोली मानेका छन्। दुबै टोलीलाई नेपालले विश्वकप छनोटमा सजिलै पराजित गरेको थियो।
बलिया मानेका टोलीलाई दुई महिनाअघि पराजित गरेकाले पनि प्रशिक्षक दासले उपाधि जित्ने लक्ष्य बनाएका हुन्।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्।
नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।
यू–१९ नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, सहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन
वैकल्पिक खेलाडी– कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रकास केसी र रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।