काठमाडौं- विशेष अदालतले पेट्रोलपम्पको जग्गा मिलाउने भनी घुस लिने नेपाल प्रहरीका नायव निरीक्षक लालमणी पौडेल र घुस रकम मिलाउने मध्यस्थकर्ता मकवानपुर हेटौंडाका विश्वक्रान्ती सिंहलाई भ्रष्टचारी ठहर गरेको छ।
विशेषले उनीहरुलाई जनही ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। विशेष अदालतले घुससहित पक्राउ परेको आरोपमा मुद्दा खेपेका नेपाल प्रहरीका नायव निरीक्षक दयानिधि ज्ञवाली र प्रहरी निरीक्षक रमेशबहादुर सिंहलाई भने सफाइ दिएको छ। विशेषका न्यायाधीश मोहनरमण भट्टराई, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलाशले फैसला सुनाएको हो।
अख्तियारले घुस लिँदै गर्दा तीन जना प्रहरीसहित चार जना संलग्न रहेको दाबी सहित आरोपपत्र दर्ता गराएको थियो। अख्तियारका अनुसार घुस लिँदै गर्दा प्रहरी नायव उपरीक्षक ज्ञवाली र प्रहरी निरीक्षक सिंहलाई पनि नियन्त्रणमा लिएको थियो। उनीहरु विरुद्ध फागुन १८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
ललितपुरको एकान्तकुनामा रहेको जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धी काम मिलाइदिन उनीहरुले घुस रकम लिएको अख्तियारको दाबी थियो। पम्पको स्वामित्व सम्बन्धमा सञ्चालकहरुबीच भएको लेनदेनको विवाद महानगरीय प्रहरी परिसर ललितपुर पुर्याइएको र प्रहरीले विवाद मिलाइदिने भन्दै एक पक्षसँग रकम लिएको अख्तियारको दाबी थियो।
अख्तियारको टोलीले प्रहरी नायव उपरीक्षक ज्ञवाली, प्रहरी निरीक्षक सिंह र मध्यस्थकर्ता मैनालीलाई तीन लाख रुपैयाँ घुस लिँदै गर्दा पुल्चोकस्थित थाइघर रेस्टुरेन्टबाट र प्रहरी नायव निरीक्षक पाण्डेलाई १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं कलंकीस्थित स्टुडेन्ट क्याफेबाट नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।