राजविराज- ‘अजम्बरी त को होला र, तर दुई-चार वर्ष दुःख गरेर बाँकी जीवन हाँसीखुसी बिताउने वाचा गरेको मान्छेले संघर्ष गर्दागर्दै छोडेर जाँदा कसको मन नरोला,’ यति भनिसक्न नपाउँदै उनको गला अवरुद्ध भयो। अरु कुरा भन्न चाहन्थिन् तर घाँटीमा केही अड्केझैं हिकहिक भयो। खोजेको कुरा पूरा गर्न नसकेपछि उनी भक्कानिएर रुन र विलौना गर्न थालिन्।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ मलेठकी ४४ वर्षीया अनितादेवी मेहताको अवस्था हो यो। खाऊँखाऊँ र लाऊँलाऊँ भन्ने उमेरमै पतिले सदाका लागि छोडेर गएपछि यतिबेला उनलाई परिवार सम्हाल्न त परै जाओस् आफैलाई सम्हाल्न समेत गाह्रो भइरहेछ। ‘हामीले त दुःख पायौं तर छोराछोरीलाई यस्तो दुःख भोग्न दिन्न भन्नुहुन्थ्यो,’ अनिताले भनिन्, ‘अरु पाँच–सात वर्ष दुःख गर्छु। त्यसपछि सँगै बसेर खुसीको जीवन बिताऊँला भन्ने मान्छे आराम गर्न नपाउँदै बित्नु भो।’
कामधन्दा र छोराबुहारीको अनुहार हेरेर पतिलाई बिर्सन खोजे पनि घर बस्दा र एक्लो हुँदा भने आफ्नै जीवन बोझ बन्न थालेको उनी बताउँछिन्। ‘सायद आफू बाँच्दिन भन्ने थाहा पाउनुभएछ क्यार। अचानक घर बनाउन सुरु गर्नुभयो,’ मृत्युको समयमा पतिले भनेको कुरा सम्झँदै एकतले पक्की घरतर्फ देखाउँदै उनले भनिन्, ‘रात कटाउने सुरक्षित ठाउँ बनाइदिएको छु, अरु केही गर्न सकिन है भनेर बिदा हुनुभो।’

उपहारस्वरुप दिएर गएको उक्त घर नै आफ्ना लागि पति बिर्सनै नसक्ने कारण बनेको भन्दै अनिताले विलौना गरिन्, ‘खुन–पसिनाले बनेको यही घरमा बसेर म कसरी उहाँलाई बिर्सन सकूँली?’
मलेठ निवासी गुलावचन महतो (कोइरी) र सुनसरीको हरिपुर निवासी अनिताको करिब २५ वर्षअघि विवाह भयो। विवाहपछि उनीहरुका छोराछोरीको जन्मिए। तीन दाजुभाइ, तीन दिदीबहिनी रहेका गुलावचन केही समयपछि छुट्टिएर बस्न थाले। अनिताका अनुसार खेतीपाती र ज्याला मजदुरी गरेर परिवार पालिरहेका गुलावचनलाई छोराछोरीको भविष्यको चिन्ताले पिरोल्न थाल्यो। अन्तिम समयसम्म पनि अर्को विकल्प नदेखेपछि गुलावचनले विदेश जाने निर्णय सुनाए।
२०६९ सालमा उनी कामका लागि साउदी अरब पुगे। जुवेलमा रहेको जिएस ग्यास कम्पनीमा काम गर्दागर्दै केही समयपछि उनलाई रियादमा रहेको सोही कम्पनीको अर्को शाखामा सारियो। करिब पाँच वर्ष उनले त्यहीँ काम गरे। कामको सिलसिलामा अचानक उनको देब्रे हातमा चोट लाग्यो। निको नभएपछि फर्केर नेपाल आए।

पछि क्यान्सर भएको थाहा पाएपछि उनको हात काटियो। रोग बढ्दै गयो। अन्नतः गत जेठ ८ गते उनले संसार छाडे।
गुलावचनको निधनले उनको परिवारको बिचल्ली भएको छ। हद म्याद नाघेको भनेर क्षतीपूर्ति र बिमाको रकमसमेत नपाएको उनले दुःखेसो गरिन्। ‘घर सम्हाल्ने मान्छे नभएपछि एसएलसी गरेको छोरो सन्तोषले पनि पढाइ छोड्यो। अब त यही एउटा घर छ, अरु सबै सकियो,’ उनले भनिन्। विदेश नभएको भए गुलावचन बाँचिहाल्थे कि भनेर उनको मनमा यतिबेला अफसोचको सानो अंश पनि जीवितै छ।
नियतिले ठगेपछि
गुलावचन मात्र होइन, शम्भुनाथ नगरपालिका वडा नं. ७ का शम्भु खंग २०६८ को अन्ततिर रोजगारीका लागि मलेसिया पुगे। २०७३ बैसाख १२ गते अचानक बेहोस भएका उनी त्यसपछि कहिलै उठेनन्। ऋण खोजेर कमाउन गएका शम्भु फर्केर नआएपछि उनको परिवारको पनि उस्तै बिचल्ली छ।

हद म्याद नाघेको भनेर उनको परिवारलाई पनि क्षतिपूर्ति र बिमाको रकम दिइएको छैन।
वेल्ही चपेना गाउँपालिका मलेकपुर टोलका मनोजकुमार मण्डल २०७१ सालमा मलेसिया पुगे। तर मेडिकल फेल भएर २२औं दिन उनलाई पुनः नेपाल फर्काइयो। तीन कठ्टा जग्गा साहुको नाममा लेखेर पैसा लिएका मनोजको जग्गा फिर्ता भएन। यही घटनालाई सहन गर्न नसकेर उनले मानसिक सन्तुलन गुमाए।
गुलावचन, शम्भु र मनोज प्रतिविम्ब मात्र हुन्। वैदेशिक रोजगारीकै कारण सप्तरीमा मात्रै अन्य धेरै परिवारको बिचल्ली भएको छ।

कतिपयले ज्यान गुमाएका छन् त कतिको धनसम्पत्ति सबै सकिएको छ।
१२४ ले गुमाए ज्यान
वैदेशिक रोजगारीका क्रममा यस वर्ष मात्रै सप्तरीका तीन जनाले ज्यान गुमाइसकेका छन्। आर्थिक वर्ष ०६५/६६ देखि हालसम्म विदेशमै मर्नेको संख्या १२४ पुगेको सूचना केन्द्रको तथ्यांकले देखाएको छ।
अहिले पनि सप्तरीका झन्डै ७५ हजार व्यक्ति विदेशमै छन्। आव २०६७/०६८ देखि हालसम्मको रेकर्ड अनुसार मलेसियामा ३३ हजार २५२, साउदीमा १६ हजार ६८१, कतारमा १७ हजार ३९, कुवेतमा १ हजार ९४२, युएईमा २ हजार ७९७, ओमनमा १७९, बहराइनमा १६४, जोर्डनमा १९६ र अन्य देशमा २ हजार ४५९ गरी कुल ७४ हजार ७०९ जना वैदेशिक रोजगारीमा रहेको सूचना केन्द्रका निर्देशक रामप्रवेश मण्डलले जानकारी दिए।
यो तथ्यांकले वैदेशिक रोजगारी एकातर्फ देशको आर्थिक भार कम गर्न सहयोगी बनेको छ भने अर्कोतर्फ यसैका कारण पारिवारिक विचलन बढाउन पनि त्यत्तिकै जिम्मेवार बनेको सप्तरीका बुद्धिजीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।