काठमाडौँ –नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध ४ विकेटको ऐतिहासिक जित हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्याण्डस्ले ४९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यो सँगै नेदरल्याण्ड्सले इतिहास रच्यो । उसले पहिलोपटक यति ठूलो लक्ष्य पूरा गरेको हो । नेदरल्याण्ड्सको कीर्तिमानी जितमा म्याक्स ओडाउडले सानदार पारी खेले । उनले १३० बलमा १३ चौका र चार छक्का प्रहार गर्दै अविजित १५८ रन बनाए ।
ओडिआईमा म्याक्सको यो करिअरको पहिलो शतक हो । त्यससँगै उनी एकै खेलमा नेदरल्यान्ड्सका लागि उच्च स्कोर बनाउने ब्याटर पनि बने । उनले वेस्ली ब्यारेसीले सन् २०१४ मा केन्याविरुद्ध बनाएको १३७ रनको कीर्तिमान तोडे ।
ओडाउडको पारीसँगै माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसीले १५, तेजा निणामानिरुले ५१ र नोहा क्रसले ५० रनको योगदान दिए ।
बलिङतर्फ स्कटल्याण्डका शफ्यान शरिफले तीन, म्याकेन्जी जोन्स र मार्क वाटले समान एकरएक विकेट लिए । त्यसअघि फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६९ रन बनायो ।
उसका लागि ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले १५० बलमा १४ चौका र ११ छक्काको मद्दतमा १९१ रनको पारी खेलेका हुन् । ओडिआईमा मुन्सेको यो करियरकै उच्च स्कोर हो ।
यस्तै, कप्तान म्याथ्यू क्रसले ५९, माइकल लिस्कले अविजित २८, चार्ली टिअरले २३ र ब्रेण्डन म्याकमुलेनले २१ विकेट लिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र माइकल लेभिटले सर्वाधिक दुई÷दुई विकेट लिए ।
जारी लिग–२ मा १३ औँ जित हो । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २४ म्याच खेल्दासम्म १३ मा जित, ९ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । यस्तै, स्कटल्याण्डले यस लिग–२ मा १९ म्याच खेल्दा १२ मा जित, १० मा हार तथा दुई खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड अहिले तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै, सातौं स्थानमा रहेको नेपालले १६ म्याच खेल्दासम्म ९ मा हार, पाँच जित र दुई खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड सिरिजमा नेपालले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।