दुई वर्षको मिहिनेत सफल भयो। हृष्टपुष्ट, पातलो कम्मर र फुलेको छाती, घुमेको सानो पुच्छर। एक हातको कालो थुतुनो, त्यसमाथि चार-चार इन्चको सेतो-सेतो जुँगा। कुकुरको भयानकतालाई उसको रङले बढाएको थियो। रौंबिनाको माटो रङको हृष्टपुष्ट जिउ। कुकुरले जब मुख खोल्थ्यो, सानो बाघ झैं देखिन्थ्यो र जब कराउँथ्यो, छेउछाउका गाउँमा समेत सुनिन्थ्यो र जो सुन्दथे उनीहरूको आङ जिरिंग हुन्थ्यो।
आजभन्दा दुई वर्षअघि जब यो कोलोनीको निर्माण कार्य सुरु भएको थियो, यसको हेरविचारका लागि झाजी ओभरसियर नियुक्त भएर आएका थिए। पहिले एउटा छाप्रो बन्यो र त्यो झाजीको निवास भयो। त्यस घर नजिकै एउटा अर्को घर बन्यो, जसमा सुपरभाइजर र पालेहरू बस्थे।
एक दिन झाजीलाई एउटा कुकुर पाल्ने इच्छा भयो। गाउँले कुकुरको बच्चा उनलाई मन परेन। उनको विचार थियो– राख्नै छ भने असल नस्लको कुकुर किन नराख्ने? झाजीले निकै खोजतलास गराएपछि एउटा असल जातको कुकुर फेला पारे। अकताको कुकुर। अकताबाट तुरुन्त एउटा कुकुर मगाउन लगाए।
ल्याउँदा धेरै सानो थियो। बच्चाको रुपरङ देखेर झाजी निकै प्रसन्न भए। बच्चाले अहिले दूध खान छाडेको थिएन। त्यसैले झाजीले जहाँबाट आफ्ना निम्ति दूध मगाउँथे, त्यहींबाट कुकुरका लागि पनि दूध मगाउन थाले। सिसीमा दूध राखेर नानीहरूलाई दूध खुवाउने निप्पलले दूध खुवाउन थाले। बच्चाले निकै चाख मानेर दूध खाने गर्थ्यो। सरकारी कामबाट बचेको समय त्यही कुकुरका लागि खर्च हुन थाल्यो।
कुकुरको बच्चा उनीसँगै सुत्थ्यो, बिहान उनीसँगै उठ्थ्यो, घुम्न जान्थ्यो, घुमेर आएपछि नुहाउँथ्यो। उनी नास्ता गर्थे, त्यो दूध खान्थ्यो। तीन–चार महिनामै कुकुर अलिक राम्रो भयो। अब दिनभरि तीन-चार पटक दूध खानाले उसको पेट भरिँदैनथ्यो। अरु केही खानको निम्ति दिनभरि कराइरहन्थ्यो। झाजीले एकदिन दूधमा भात मुछेर खान दिएका थिए। कुकुरले सुँघेपछि अलिकति मात्रै खाएको थियो।
खान नपाउँदा कुकुर झन् कराउन थाल्यो, भुक्न थाल्यो। भात खानाले कुकुरको पेट भरिँदैनथ्यो र भात खानमा उसको खास रुचि पनि थिएन। झाजी हैरान भए। जो कुकुर ल्याउन गएको थियो, उसले नै भन्यो, ‘हजुर अकतामा सधैं राँगा काटिन्छन् र त्यहाँका कुकुरको खाना नै हड्डी खुट्टी। अकताको कुकुरको जातको वास्तविक रुप हेर्नु छ भने कुकुरलाई सधैं मासु खुवाउनुपर्यो।’
अब के गरुन् झाजीले पनि। शहरबाट मासु ल्याउनका निम्ति एक जनालाई नियुक्त गरे। त्यो मान्छे एकाबिहानै साइकल चढी शहर पुग्थ्यो र खाने बेलासम्म राँगाको मासु लिएर हाजिर हुन्थ्यो। नुन हालेर राँगाको मासु उमालिन्थ्यो र कुकुरलाई दिइन्थ्यो। कुकुरले पनि चाखपूर्वक खान्थ्यो। आधा किलो मासु कुकुरलाई खुवाउन थालियो। तीन-चार महिनामै तीन किलोसम्म मासु खाने जस्तो भयो कुकुर। त्यो खुवाइले कुकुरको जिउडाल बदलियो।
***
एक चिन्ता गयो, अर्को आयो। अब झाजीले कुकुरलाई शिक्षा दिने विचार गरे। शहरबाट एउटा कुकुर प्रशिक्षक ल्याइयो। प्रशिक्षण सुरु भयो।
कुकुरलाई सबैभन्दा पहिलो प्रशिक्षण मान्छे चिन्ने दिइयो। केही दिनपछि नै कुकुरले पनि चिनेको मान्छेलाई केही गर्दैनथ्यो र नचिनेकालाई टोक्थ्यो। फेरि कुनै कठिन परिस्थितिबाट बाहिर निस्कने कला सिकाइयो। यसको निम्ति मान्छे बराबर एउटा कुवा खनियो– सर्कसको मौतको कुवा जस्तै। त्यस कुवाभित्र कुकुरलाई राखियो र माथि किनारमा उसिनेका मासु। किनारको मासु खान निकै परिश्रम पर्थ्यो कुकुरलाई। तीन–तीन चार–चार घन्टापछि मात्र कुकुर त्यो मासु खान सफल हुन्थ्यो।
केही दिनपछि त्यो समय निकै कम भयो र कुकुर प्रशिक्षित भयो। तेस्रो चरणमा के गरियो भने, त्यो उसिनेको मासुलाई एउटा कपडामा बाँधेर मान्छे बराबरको उचाइ भएको रुखमा झुन्ड्याइयो र कुकुरलाई छाडियो त्यो मासु ल्याउन र खान। केही कठिनाइ र अभ्यासपछि त्यस काममा पनि कुकुर उत्तीर्ण भयो।
***
कुकुरको प्रशिक्षण अन्तिम अवस्थामा थियो। कोलोनी पनि तयार भयो। झाजी पूर्वीया ब्राह्मण थिए। महादेवको पूजा गराउने तथा घर शुद्धि गराउने विचार गरे। दिनभरि पूजा चल्यो। साँझमा ब्राह्मणभोज दिइयो।
साँझमा लगभग आठ बजे भोजन गर्न मुख्य आचार्य आए। उनले कोलोनीको गेटतिर के पाइला सारेका थिए, कुकुर उनीमाथि झम्ट्यो। अगाडिको दुवै पञ्जा उनको काँधमा राखी ठीक उनको मुख सामुन्ने बाघ जस्तो मुख खोल्यो। आचार्य बेहोस भए, हातबाट लोटा खस्यो, उनी भुइँमा लडे। झाजी अथवा उनका नोकर–चाकर आएर कुकुरलाई नियन्त्रित गरुन्जेल आचार्यजीको प्राणपखेरु फुर्र उड्यो। पछि के थाहा भयो भने, भयका कारण आचार्यजीको हृदयघात भएछ। यस घटनापछि झाजी र उनको कुकुरको निकै टीकाटिप्पणी भएको थियो। झाजीले पनि अपराधबोध गरेर कुकुरको घाँटीमा सिक्री लगाउन थाले।
कुकुर दिनभरि बन्धनमा रहन्थ्यो र कराइरहन्थ्यो। एकदिन झाजीले सोचे– यदि दिनभरि कुकुर यसरी बन्धनमै राख्ने हो भने कुकुर पालेको के फाइदा? त्यसपछि राति १० बजेदेखि बिहानसम्म कुकुर खोल्ने निर्णय गरे। अँ, बाहिर कोलोनीको गेटमा एउटा सानो बोर्ड झुन्ड्याइयो– ‘कुकुरदेखि सावधान’।
***
कोलोनीको ठीक सामुन्ने कम्पाउन्डवालको समानान्तरमा मेनरोड थियो। त्यही रोड गाउँमा प्रवेश गर्ने, बाहिर जाने तथा बिहान-बेलुका आइमाईलाई बाहिर बस्न जाने बाटो थियो। रातभर कोलोनीको गेट बन्द रहन्थ्यो र कुकुर पनि कम्पाउन्डभित्रै रहन्थ्यो। कुकुरको भुकाइले १० बजेपछि बाटो बन्द हुन्थ्यो। कुकुर बाहिर त निस्कँदैनथ्यो, तर कुनै अपरिचित व्यक्तिको गन्ध आउनासाथ जोडले भुक्थ्यो र सुन्नेको मुटु काम्थ्यो। उसको भुकाइ पनि साधारण कुकुरभन्दा भयानक थियो।
कुकुर जवान भएपछि पहिलो कात्तिकको महिना आएपछि झाजीले निकै ध्यान दिएका थिए, कुकुर कतै बाहिर नजाओस् भनेर। बिहान-बेलुका एक्लै घुम्न जान्थे झाजी। कुकुर कोलोनीमै रहन्थ्यो।
एक रात कसैगरी कुकुर पर्खाल नाघेर बाहिर निस्कियो। झाजीले निकै खोजतलास गराए, तर अत्तोपत्तो लागेन। झाजी निराश थिए। गाउँलेहरू खुसी भए। गाउँमाथिको एउटा ग्रह हट्यो! तर, यस्तो वातावरण धेरै दिन रहन सकेन। लगभग दुई हप्तापछि कुकुर आफैं कतैबाट फर्केर आयो, तर उसको हालत निकै खराब थियो। जिउ सुकेको थियो, आँखा धसिएका थिए। जिउमा कुकुरको टोकाइले घाउ भएको थियो। झाजीलाई दया लाग्यो। कुकुर भए पनि आखिर उनकै थियो। कुकुरलाई नुहाइयो, खाना दिइयो र सिक्रीमा बाँधियो।
पुस-माघको महिना थियो। बिहानै-बिहानै एउटा फेरि अर्को घटना भएको थियो। बिहान गाउँका दुई-चार जना आइमाई बाहिर गइरहेका थिए। गाउँघरमा ट्वाइलेट कहाँ हुन्छ र! एकाध वटा भए पनि धनीहरूको घरमा मात्र हुन्छ। पर्खाल नाघेर नकराई कुकुरले लखेट्यो। सबै जना भागे, तर एक जना सारीमा अल्झेर लडिन्। कुकुरले तीन-चार ठाउँमा मासु लुछेको थियो। आइमाई पूर्ण रुपमा निर्वस्त्र र बेहोश भइन्।
मान्छेहरुले गुनासो गरे। उनीहरुले यस घटनालाई जसोतसो पचाए। औषधि उपचार गराइयो। आइमाई निको भइन्। तर, यस्तो खालका घटना बारम्बार हुन थाले। गाउँलेहरू हैरान भए। गाउँमा पञ्चायत बस्यो। पञ्चहरू बसे। पञ्च परमेश्वर। झाजीलाई बोलाइयो। पञ्चायतमा निर्णय भयो– झाजीले या त गाउँ छाड्नुपर्यो, होइन भने कुकुर मार्नुपर्यो। नत्र भने पञ्चायतको तर्फबाट उनीमाथि उजुर पर्ने भयो।
***
झाजीको हालत साँप–छुचुन्द्रोको जस्तो भयो। उनी न त कुकुरलाई भगाउन सक्थे, न राख्न। सानैदेखि दूध खुवाईखुवाई पालेका थिए। मार्न त सोच्नै सक्दैनथे। हो, गाउँलाई कुकुर आतंकबाट बचाउन कुकुर त्याग्न तयार भए। गाउँलेहरूलाई पनि यो मञ्जुर भयो।
एक दिन झाजीले एउटा नोकरलाई कुकुर दिँदै भने, ‘यसलाई गंगा पार गराएर आउनू।’ नोकर कुकुर लिएर हिँडे। तीन दिनपछि फर्कियो। चौथो दिन बिहानै कुकुर टुप्लुक्क आइपुग्यो। कुकुर आएको खबर सुन्नासाथ गाउँलेहरू फेरि फत्फताउन थाले। झाजीलाई पनि रिस उठ्यो। उनले एकपटक मार्ने विचार पनि गरे। तर, फेरि कुकुरप्रतिको स्नेह जाग्यो।
यता गाउँलेहरूको विचार हेर्दा झाजी असमञ्जसका सिकार भएका थिए। उनको हालत साँप–छुचुन्द्रो जस्तै भएको थियो। झाजीका आँखा रसाए पनि। कुकुरलाई सुम्सुम्याउँदै भनेका थिए झाजीले– मान्छेहरू भन्छन्, कुकुरको बच्चा पाले हुन्छ, मान्छेको बच्चा नपाल्नू। यसैका लागि हो? यही दिन देखाउनका लागि? यही हो तिम्रो स्वामीभक्ति? यसो भन्दै गर्दा झाजीको आँखाबाट आँसु झर्न थाल्यो, उनी हुँक्क हुँक्क गरी रुन थाले।
कुकुरले एकपटक झाजीलाई हेर्यो र पुच्छर हल्लाउन थाल्यो, मानौं भन्दै थियो– मेरो गल्ती माफ पाऊँ, अबदेखि म दुःख दिन्नँ र अब यहाँ बस्दिनँ।
***
कुकुर गेटबाहिर आयो बिस्तारै-बिस्तारै। अब यो गाउँ त्यो गाउँ घुमिरहन्छ। कसैले माया गरेर एकाध गाँस दियो भने खान्छ, होइन भने यसै घुमिरहन्छ। अब त्यो कसैलाई टोक्दैन। टोक्ने कुरै नगरौं, अब त भुक्न समेत भुक्दैन। गाउँका केटा उसका साथी भएका छन्। उनीहरू खेलाइरहन्छन् र ऊ खेलिरहन्छ– कुँ कुँ गर्दै।
(बहुभाषिक पत्रिका ‘सयपत्री’को पूर्णांक १४ बाट साभार।)
अनुवादक : गोपाल अश्क
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।