काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि मूल्याङ्कनको मापदण्डमा परिमार्जन गरी वाचनपछि मात्रै पुरस्कृत कविताबारे निर्णय गर्ने भएको छ। विगत वर्षमा वाचन गरिनुपूर्व नै मूल्याङ्कनकर्ताले प्राप्ताङ्क दिने गरेकामा प्रतियोगितालाई पारदर्शी र व्यवस्थित बनाउन यस वर्ष वाचनका लागि बेग्लै १० अंक दिइने प्रबन्ध गरिएको हो।
प्रतिष्ठानले स्थापना दिवसका दिन असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलका अनुसार आसन्न ६२औँ स्थापना दिवसमा आयोजना गरिने महोत्वसका लागि ३ सय ४१ प्रतियोगीको कविता प्राप्त भएको छ।
उनले प्राप्त कवितालाई कोडिङ गरी कविको नाम र तस्बीर गोप्य राखी विशेषज्ञलाई दिइने, पहिलो चरणको छनोटबाट वाचनका लागि ३० जना चयन हुने र वाचनपछि पहिलो, दोस्रो र तेस्रो गरी ५ जनालाई पुरस्कृत गरिने जानकारी दिए। गत वर्ष दुई सय २९ कविता प्राप्त भएका थिए।
पुरस्कारको राशि क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ रहेको छ। यसरी मूल्याङ्कन गर्दा भूगोल वा जातका आधारमा नभई केवल कविताको मात्रै मूल्याङ्कन हुने उनको भनाइ छ। प्रतिष्ठानले समसामयिक विषयमा १ सय ५० शब्दभित्र कविता आव्हान गरेकामा कविता बुझाउने अन्तिम मिति सोमबार सकिएको थियो।
महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयमा कार्यपत्रसहित काव्य विमर्श हुनेछ भने गत वर्षका विजयी कविलाई आगामी असार ३ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।