मेलबर्न– अन्टार्टिकाको हिउले पुरिएको पहाडभित्र गर्मी हुने गुफामा जीव जन्तु र वनस्पतिको रहस्यमय संसार हुन सक्ने वैज्ञानिकहरुको भनाई छ। अस्ट्रेलियाको नेशनल युनिभर्सिटी (एएनयु) ले अन्टार्टिकाको रोस द्धीपमा गरेको अध्ययनमा माउन्ट इरेबसको वरपर बग्ने झरनाले गुफामा ठूलो जाल बनाएको भेटिएको छ।
अध्ययनमा संलग्न वैज्ञानिक सी फ्रासरले भने–‘गुफाको भित्र धेरै गर्मी हुन सक्छ। केही गुफा भित्रको तापमान २५ डिग्री सेल्सियससम्म पनि हुन सक्छ। तपाईहरु गुफा भित्र टिसर्ट मात्र पहिरिएर पनि बस्न सक्नु हुन्छ।’
पोलर बायोलोजी जनरलमा प्रकासित अध्ययनका प्रमुख शोधकर्ता फ्रेसरका अनुसार गुफाको मुहानमा चम्किलो चिज देखिएको छ। ‘केही गुफा जहाँ बर्फको मात्रा पातलो छ, भित्र उज्यालो देखिएको छ।’
उनले माउन्ट इरेबसको गुफाहरुमा भेटिएको डिएनए अन्य स्थानमा पाउने तत्व जस्तै रहेको बताए। अध्ययनले अन्टार्टिकाको हिउदे पहाडभित्र वनस्पति र कुनै प्राणीको नयाँ प्रजाति हुन सक्नेतर्फ लक्षित गर्दै उनले भने, ‘अब गुफाको निकै नजिकको वस्तुको अध्ययन गर्नु रहेको छ। यसले सबै कुरा झर्लङ हुनेछ।’
अस्ट्रेलियाका वैज्ञानिकहरु अहिले अन्टार्टिकामा जीव तथा वनस्पति थियो कि थिएन भनेर अध्ययन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।