मसँग दुइटा स्वस्थ आँखा छन्
मलाई एउटा भए
दुनियाँको कालो सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आँखा लैजाऊ
कतै बेच
त्यसले शिरबन्दी किन।
मसँग दुई वटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाऊ
कतै बेच
त्यसले रङ्गीविरङ्गी चुराहरु किन।
मसँग एक मुठी चोखो मुस्कान छ
जो मेरो ओठमा बेलायक देखिन्छ
बिक्ला कि कतै बजारमा लैजाऊ, बेच
र सपनासँग मिल्दो रङ्गको एउटा पछ्यौरा किन।
मसँग एउटा फूलजस्तो खुसीको विरुवा छ
जो मेरो छातीमा सप्रिन सकेको छैन
कुनै सौखिनले फूलदानीमा सजाउन किनिदेला कि ?
लैजाऊ, सौखिनहरुको प्रदेशमा बेच
त्यसैले रहर जस्तो गुन्यू-चोलो किन।
कतै नबिकेको
मसँग एक गाग्रो पसिना छ, लैजाऊ
त्यसले कपाल नुहाइदेऊ
बग्दाबग्दै पनि नसिद्धिएको
मसँग दुई थोपा आँसु छ,
लैजाऊ, त्यसले गोडा धोइदेऊ।
राक्षसहरुबाट मुस्किलले जोगाइराखेको
मसँग अलिकति शुद्ध रगत छ, लैजाऊ
अक्षतासँग मुछेर निधारमा लगाइदेऊ
सम्पत्तिको नाममा मसँग यही कविता छ,
लैजाऊ, पछ्यौरामा दाइजो हालिदेऊ।
मसँग आशीर्वादको एउटा ताजा थुँगा छ, लैजाऊ
शिरमा राखिदेऊ, र तिम्रो तर्फबाट यति थपिदेऊ-
कि युद्ध सुरु भइसकेको हुनाले
उसको प्यारो अंकल
गरिबीको मोर्चा छोडेर
छोरीको विवाहमा आउनै सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।