स्कटल्याण्ड– कवि मुकुल दाहालको एकल कविता वाचन कार्यक्रम स्कटल्याण्डको एबर्डिनमा सम्पन्न भएको छ।
नेप्लिज हिमालयन एसोसियसन स्कटल्याण्ड तथा पोयट्री ग्रुप एबड्रीनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कवि दाहालले आफ्ना करिब एक दर्जन कविता वाचन गरेका थिए।
मुकुल दाहाल कवितामा जीवनका सत्यहरूको खोजी गर्ने गम्भीर कवि हुन्। आफ्ना कवितामा उच्च कलात्मकताका र संवेदना प्रस्तुतगर्न सक्ने दाहालको ‘सीमातीत सीमान्त’ कविता संग्रह प्रकाशित छ।
विभिन्न समयमा ‘चिन्तन’, ‘कोसेढुङ्गा’, ‘नेपाल लेटर्स’, ‘पेन हिमालय’ जस्ता जर्नल र साहित्यिक पत्रिकाको सम्पादन समेत गरिसकेका दाहाल अङ्ग्रेजी भाषामा समेत कलम चलाउँछन्।
दाहालले दर्जनौं कविताको अनुवाद गर्नुका साथै परशु प्रधान र घनश्याम राजकर्णिकारका पुस्तकहरूलाई अङ्ग्रेजीमा अनुवाद पनि गरिसकेका छन्।
आफ्नो पहिलो एकल कविता साँझमा दाहालले जीवनका सन्दर्भहरु, मानवीय संवेदनाका विभिन्न पक्षहरुका साथमा परदेशी जीवनका पीडा र संवेगात्मक पक्षहरुलाई समेटिएका कविता वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।