कालेबुङ- दार्जीलिङको चोक बजारमा गोर्खाल्यान्ड आन्दोलनकारीहरूको जनसभा चलिरहेको थियो। आन्दोलनकारीको ८६ दिनदेखि चलिरहेको सँधैजस्तोको रुटिन जनसभा थियो। जनसभामा दार्जीलिङका पुलिसका जवान अचानक घुसे अनि गोर्खाल्यान्ड समर्थकमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्न सुरु गरे।
सिंहमारीकी शोभा बस्नेतलाई शुरुमा के भइरहेको छ भन्ने कुराको हेक्का नै भएन। जब प्लास्टिकको लट्ठी छेपारीमा बज्रियो तब थाहा पाइन्, उनी पुलिसको घेरामा परिसकेकी थिइन्। ‘अचानक भागरेभाग मच्चियो, हामी पनि भाग्यौं,’ शोभाले नेपाल लाइभसित भनिन्, ‘हाम्रा धेरै साथीलाई गम्भीर चोट लागेको छ। कतिलाई त घिसारेर लग्यौँ।’
दार्जीलिङका पत्रकार मोहन लामाले बताए अनुसार यो घटनामा आन्दोलनकारी मात्र घाइते बनेनन्, पुलिसका जवानहरू पनि घाइते भए। उनका अनुसार पुलिसले लट्ठीचार्ज गरेपछि जवाबमा आन्दोलन समर्थकहरूले पनि पुलिसमाथि ढुङ्गामुढा गरे। यसैबीच पुलिसले कैयौं राउन्ड अश्रुग्यास पड़्काएर सभालाई भताभुंग बनाइदियो।
हजारौं आन्दोलन समर्थक सँधैजस्तो जुलुस सकेर जनसभा सुन्न बसेका थिए। उनीहरू जनसभास्थल पुग्नु अघि नै लगभग ३० जना पुलिस त्यहाँ तैनाथ थिए। पुलिसको तैनाथी पनि ३ महिनादेखि यसरी नै निरन्तर चलिरहेकाले आन्दोलन समर्थकलाई लट्ठीचार्ज होला भन्ने हेक्का भएन।
जब दार्जीलिङ नगरपालिकाको वडा नम्बर २३ की नगरपार्षदिका प्रतिभा राईले जनभेलालाई सम्बोधन गर्न सुरु गरिन्, उत्तिनै खेर जताभावी लट्ठीचार्ज गर्दै पुलिसका जवान भीडभित्र पसे।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका प्रवक्ता गोविन्द छेत्रीले भने, ‘बंगाल सरकारले गोर्खाल्यान्डको यस गणतान्त्रिक मागलाई बर्बरतापूर्वक दबाउने प्रयास गरिरहेको छ। गोर्खाल्यान्डको मागमा आवाज पनि उठाउन नपाउने भइसक्यो। यसप्रकारको घट्नाको सम्पूर्ण जनताले विरोध जनाउनेछन्। घट्नामाथि सिबिआई वा न्यायिक जाँच हुनपर्ने माग गर्छौँ।’
पुलिसका अनुसार आन्दोलनकारीले जनसभाका निम्ति प्रशासनसँग अनुमति लिएका थिएनन्। ‘अनुमतिबिना कसैलाई पनि जनसभा गर्न दिइनेछैन। यसैले शुक्रबार चौकबजारमा जनसभा गर्न नदिइएको हो,’ पुलिस अधिक्षक अखिलेश चक्रवर्तीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।