काठमाडौं- पदम विश्वकर्माको पहिलो कथासंग्रह 'तमसुक' सार्वजनिक भएको छ। साहित्यकार माया ठकुरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, समालोचक खगेन्द्रप्रसाद लुइँटेल, श्रीओम श्रेष्ठ लगायतले पुस्तक लोकार्पण गरे।
साहित्यकार ठकुरीले विश्वकर्माको कथासंग्रहमा समाजका रहेका द्वेध चरित्रलाई उदांगो पारिएको चर्चा गर्दै पुस्तक पठनीय रहेको बताइन्।
अर्का वक्ता लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेतृत्व सम्हालिसकेका विश्वकर्माको कृतित्व र व्यक्तित्व निकै गौरवशाली रहेको भन्दै प्रशंसा गरे।
समीक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको विषम परिस्थितीलाई दर्शाएको बताउँदै प्रविधि, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावलाई मिहिन रुपमा केलाइएको उल्लेख गरिन्।
नेपाल लघुकथा संघका अध्यक्ष श्रीओम श्रेष्ठले कथाकारले प्रवासी नेपालीले विदेशी भूमिमा भोगेका सन्दर्भलाई निकै सिर्जनात्मक रुपमा प्रस्तुत गरेको बताए। अनेसासका सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेलले विश्वकर्मा साहित्यकारभन्दा बढी साहित्यिक संस्थाको सबल नेतृत्वकर्ता रहेको उल्लेख गर्दै उनको लेखन शैली प्रशंसायोग्य रहेको औंल्याए।
कथा संग्रहका लेखक विश्वकर्माले तमसुक पढ्दै जाँदा पात्रको जीवनमा आफै प्रवेश गरेको आभास मिल्ने दाबी पेस गरे।
पुस्तक शिखा बुक्सको प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।