काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाको पक्षमा शुक्रबार फैसला सुनाएको छ।
उपाध्यक्ष शेर्पालाई खेलकुद सम्बन्धी काम नलगाउन भनी खेलकुद मन्त्रालयले पत्र पठाएपछि त्यसविरुद्ध शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले माग बमोजिम हुने व्यहोराको फैसला गरेको हो। यसअघि १५ भदौमा चोलेन्द्र शम्शेर जबराको इजासलले कारण देखाउन आदेश दिएको थियो।
खेलकुद मन्त्री राजेन्द्र केसीले शेर्पाविरुद्ध तीन वर्षदेखि फौजदारी मुद्दा चलिरहेकाले खेलकुद सम्बन्धी कुनै काम नलगाउन भनी राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेका थिए।
२०७१ चैतमा हङकङबाट भन्सार छलेर २५ तोला सुन ल्याएका शेर्पा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। पक्राउलगत्तै उनी १३ लाख धरौटीमा रिहा भएका थिए।
एमाले कोटामा खेलकुद परिषदको उपाध्यक्ष बनेका शेर्पा नेपाल बास्केटबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।