राष्ट्रिय कविता प्रतियाेगितामा उत्कृष्ट हुने कविहरु पुरस्कृत

नेपाल लाइभ | २०७६ बैशाख २८ शनिबार | Saturday, May 11, 2019 २१:३७:०० मा प्रकाशित

काठमाडाैं- सभामुख कृष्णबहादुर महराले साहित्यले विचारलाई फराकिलो बनाउने बताएका छन्।

रोल्पा गुराँस साहित्य मेलाअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएका कविलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार वितरण गर्दै उनले साहित्यले समाजलाई सही दिशामा डोर्‍याइरहेको बताएका हुन्। सभामुख महराले साहित्य क्षेत्रको विकासका लागि सरकारले आवश्यक ध्यान पुर्‍याउनुपर्ने धारणा राखे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले साहित्यले समाजमा भएका यथार्थ घटनालाई व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्ने हुँदा साहित्यप्रतिको आकर्षण बढी रहेको बताए। 'दश वर्षे जनयुद्धको उद्गमस्थल रोल्पाको विकासले तीव्रता पाइरहेको छ', उनले भने, 'रोल्पाली नागरिकको मुहारमा उज्यालो छाउँदैछ, परिवर्तनको अनुभूति दिलाउन हामी लागि परिरहेकाछौँ।'

कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगी कविलाई नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो। बैसाखको १५ गते देखि १७ गतेसम्म भएको साहित्यिक मेलाअन्तर्गतको कविता प्रतियोगितामा खोटाङका मोहन पोख्रेल 'संग्राम'को ‘झोलामा देश’ कविता प्रथम भएको थियो।

यस्तै कैलालीका मोहित जोशीको ‘औँलाको शहरमा' कविता द्वितीय, सिन्धुपाल्चोकका पवन ढुङ्गानाको ‘म नै सर्वहारा’ कविता तृतिय भएको थियो भने नुवाकोटका गीता पुडासैनीको ‘रोल्पा’ र सिन्धुपाल्चोकका सुन्दर श्रीषको कविता ‘अक्षरको समाजशास्त्र’ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो। प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतियलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको थियो।

रोल्पा नगरपालिकाका प्रमुख पुरन क्षेत्री, निर्णायक कवि मोमिला, नवीन रोचन मगर, वासु त्रिपाठी, राज शाहले मन्तव्य राख्दै प्रतियोगिताको महत्व र निर्णायक प्रक्रियाका बारेमा प्रकाश पारेका थिए।