न्युयोर्क– युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलको उपाधिका लागि सालोनी स्टेफिन्स र म्याडिसन किज भिड्ने भएका छन्। दुवै खेलाडी युएस ओपनको फाइनमा पुगेका यो पहिलो पटक हो।
शुक्रबार बिहान भएको खेलमा अमेरिकी खेलाडी स्टेफिन्सले दुई पटककी च्याम्पियन ३७ वर्षीय भेनस विलियम्सलाई पराजित गरेका हुन्। आफ्नै देशकी भेनसमाथि स्टेफिन्सले ६–१, ०–६ र ७–५ को रोमान्चक जित निकालेकी हुन्।
स्टेफिन्सले चौथो वरीयताकी भेनसलाई हराएसँगै पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुग्न इतिहास समेत बनाइन्। चोटका कारण केहि महिना कोर्टबाहिर रहेकी २४ वर्षीया स्टेफिन्सले पुनरागमन गरेको प्रतियोगितामा उत्कृष्ट नजिता निकालेकी हुन्।
दुई अमेरिकी खेलाडीबीच भएको अर्को सेमिफाइनलमा म्याडिसन किजले कोको भेन्डेवेघेलाई ६–१ र ६–२ ले सहज रुपमा हराएर स्टेफिन्सको भेट पक्का गरिन्। २२ वर्षीय किजले १५औं वरीयता तथा कोको २०औं वरीयताका खेलाडी हुन्।
योसँगै सन् २००२ पछि युएस ओपनको फाइनलमा अमेरिकी महिला खेलाडीले भिड्न लागेका हुन्। २००२ को फाइनलमा विलियम्स दिदी बहिनीबीच प्रतिस्पर्धा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।