काठमाडौं- नेपाली क्रिकेट टोलीबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन। नेपाली राष्ट्रिय टोलीमा बेग्लै पहिचान बनाएका शक्ति हङकङविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि यसै साता नाम सार्वजनिक हुँदा टिमबाट बाहिर रहे।
बिरामीका कारण उनी ५ वर्षको अवधिमा पहिलो पटक टिमबाट बाहिरिए। ३३ वर्षीय शक्तिको सन्यासको विषयलाई लिएर बेलाबेलामा कुरा नउठेको होइन्। अहिले उनी आफ्नो करिअरको पूवार्द्धमा आएर उभिएका छन्। त्यसैले निकट भविष्यमा उनले नेपाली क्रिकेटबाट सन्यास लिए, कसैले आश्चर्य नमान्दा हुन्छ। शक्ति पनि राष्ट्रिय टोलीमा आफ्नो उत्तराधिकारी स्थापित गरेर बिदा लिन चाहन्छन्।




यतिबेला संयोग नै मान्नुपर्ला, शक्तिको उत्तराधिकारी बन्ने अभियानमा अहिले यू–१९ राष्ट्रिय टोलीका एक बलर देखा परेका छन्। उनको नाम हो, सहाब अलाम।
शक्ति र सहाबबीच धेरै समानता छ। दुवै भैरहवाबाट प्रतिनिधित्व गर्छन्। रोचक कुरा, दुवै स्पिनर हुन् र द्रेब्रे हातबाटै बल फ्याँक्छन्।
शक्ति क्रिकेट करिअर सुरु गर्दा सहाब जन्मिएका पनि थिएनन्। सहाबले क्रिकेट बुझ्न थाल्दा, शक्ति राष्ट्रिय टोलीको स्टार खेलाडी बनिसकेका थिए। ‘उहाँ मेरो आदरणीय दाइ हुनुहुन्छ। मेरो आइकन पनि,’ सहाब भन्छन्, ‘उहाँको क्रिकेट हेरेर म हुर्किएको हुँ।'

सहाबका लागि शक्ति गौचन ‘लक’ पनि हुन्। एक वर्षअघि गुमनाम सहाबले शक्तिको कप्तानीमा खेलेपछि राष्ट्रियस्तरमा ‘एक्सपोजर’ पाए। गत बैसाखमा कैलालीमा सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) मा सहाबले रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए। यही प्रतियोगितामार्फत उनी राष्ट्रियस्तरमा चर्चित बने। डिपिएलका सुरुवाती खेलमा रुपन्देहीले उत्कृष्ट खेल पस्कदा सहाबले नै प्रभावशाली बलिङ गरेका थिए।
भैरहवाबाट यू–१९ खेलेका सहाबलाई शक्तिले ३० हजार रुपैयाँमा रुपेन्देही च्यालेन्जर्समा आबद्ध गराएका थिए। उमेर समूहको प्रतियोगिता खेलेको भरमा शक्तिको नजरमा परेका सहाबले डिपिएलमा आफुलाई प्रमाणित गर्न ७ खेलमा १६ विकेट लिएका थिए। उनी डिपिएलमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी पनि हुन्। समूह चरणका दुई खेलमा सहाब ‘म्यान अफ दि म्याच’ चुनिएका थिए।
‘जसरी मलाई रुपन्देही च्यालेन्जर्सले पत्याएर टोलीमा राखेको थियो, मैले पनि मेहनत गरेँ,’ सहाब भन्छन्, ‘डिपिएलमा गरेको प्रशर्दनले मेरो करिअरलाई नयाँ उचाइ दिएको हो।’
डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सहाब त्रिभुवन आर्मी क्लबमा आबद्ध भए। अहिले उनी आर्मी क्लबका प्रमुख खेलाडी हुन्। आर्मीबाट एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट खेलेपछि सहाबलाई यू–१९ राष्ट्रिय टोलीमा पर्न गाह्रो भएन। दुई महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा सहाबले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सिङ्गापुरबिरुद्ध ‘डेब्यु’ मै २ विकेट लिएका थिए। उनले प्रतियोगिताको ६ खेलमा १२ विकेट लिए।
स्कुले जीवनदेखि नै क्रिकेटमा आकर्षित सहाब भैरहवाको लुम्बनी खुकुरी क्रिकेट एकेडेमीका उत्पादन हुन्। प्रशिक्षक जंगबहादुर थापाबाट उनले क्रिकेटको गुण सिकेका थिए।
डिपिएलअघि सहाबले भैरहबाट यू–१९ राष्ट्रिय प्रतियोगिता खेले। गत वर्ष यू–१९ राष्ट्रिय टोलीका लागि भएको ‘ट्यालेन्ट हन्ट’मा उनी राष्ट्रिय टोलीमा अटाउन सकेनन्। सहाब स्पिनको थप गुण सिक्न भैरहवामा शक्तिले स्थापना गरेको क्रिकेट एकेडेमीमा गइरहन्थे। यहाँ उनले शक्तिबाट बलिङको थुप्रै टिप्स सिक्ने मौका पाए। ‘शक्ति दाइको एकेडेमीमा जाने कारण उहाँले मलाई थुप्रै टिप्स दिनुहुन्थ्यो,’ शक्तिलाई पछ्याउनुको कारणबारे सहाब भन्छन्। शक्तिको शान्त व्यक्तित्वबाट निकै प्रभावित छन्, सहाब । भन्छन्, ‘उहाँका सबै कुरा सुनिरहुँ जस्तो लाग्छ।’
सहाब शुक्रबार एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेल्न मलेसियालतर्फ उडेका छन्। यो प्रतियोगितालाई उनले विशेष महत्वका साथ हेरेका छन्। प्रतियोगितामा आफ्नो प्रदर्शन उत्कृष्ट रहे राष्ट्रिय टोलीका लागि आफ्नो ढोका खुल्ने सहाबले राम्रोसँग बुझेका छन्। त्यसैले भन्छन्,‘मलेसियामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।