रसुवा– रसुवामा भूकम्प प्रभावितलाई लक्षित गरी किस्ता रकमको जानकारी दिने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याइएको छ।
अब पीडितहरुले घरमै बसेर मोबाइल फोनमा ‘इएचआरपी रसुवा’ नामक एपबाट अनुदान रकम वितरणबारे जानकारी लिन सक्नेछन्। एप एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताका लागि ल्याइएको जनाइएको छ।
भूकम्पीय आवास पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइका सामाजिक विकास विशेषज्ञ मौलीधन राईले पीडितहरुले पाउने अनुदान वितरणको रकम लिए–नलिएकोबारे जानकारी दिन एप ल्याइएको बताए।
‘यो एपमा जिल्लाका ११ हजार ६ सय २९ लाभग्राहीको विवरण समेटिएको छ’, उनले भने।
सामान्य गतिको इन्टरनेटमा पनि यो एप प्रयोग गर्न सकिने उनले बताए।
एपमा सम्झौता नम्बर भर्नेबित्तिकै पीडितले पाएको किस्ता र पाउने किस्ताबारे जानकारी प्राप्त हुने जनाइएको छ। कुन लाभग्राहीले कुन किस्ता पाए, किस्ता कहाँ रोकिएको छ भन्ने लगायतको जानकारी पनि एपमा समेटिएको छ।
त्यस्तै भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले भूकम्प प्रभावितको अवस्था, निजी आवास निर्माण, गुनासो, किस्ता सिफारिस लगायतको बारेमा जानकारी दिन अनलाइन पोर्टल समेत सञ्चालनमा ल्याएको छ। इएचआरपी डट डिडिएनएस डट नेट मार्फत विवरण थाहा पाउन सकिने जनाइएको छ।
युजर नेम र पासवर्ड राखेपछि मात्र खुल्ने सो पोर्टल पहिलो चरणमा भूकम्प प्रभावितको क्षेत्रमा काम गर्ने संघसंस्था र पत्रकारलाई उपलब्ध गराइएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।