काठमाडौं- रसुवाली कविका नामले परिचित ठाकुरप्रसाद तिमिल्सिनालाई गिरफ्तारी गरिएकोमा स्वतन्त्र लेखक, साहित्यकार, अभियन्ताले विरोधसभा गरेका छन्।
पक्राउ परेको २० बित्दासमेत रिहा नगरेको भन्दै शनिबार माइतीघर मण्डलामा उनीहरुले विरोधसभा गरेका हुन्।
विरोधसभामा उपस्थितले हातहतियार, खरखजाना वा आपराधिक गतिविधिमा संलग्न नरहेका एक शब्दकर्मीको गिरफ्तारी गणतान्त्रिक मुलुकका लागि हास्यास्पद, निन्दनीय र खेदजनक रहेको भन्दै तत्काल रिहाइको माग गरे।
कविलाई राज्यद्रोहको मुद्दामा थुनामा राखिनुले नागरिकको राजनैतिक स्वतन्त्रताको हक कुण्ठित गरिएको, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको भन्दै उनीहरुले भत्सर्ना गरे।
‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा’ ‘रसुवाली कविलाई रिहाइ गर’ ‘नागरिकको अभिव्यक्ति र राजनैतिक स्वतन्त्रताको हक सुनिश्चित गर’ भन्ने नारासहितका प्लेकार्ड बोकी नारा लगाएका थिए।
रसुवाली कविलाई विप्लव निकट नेकपा निकट रहेको आशंकामा २० दिनअघि बालाजुको एक चियापसलबाट गिरफ्तार प्रहरीले पक्राउ गरेको थियो।
हालसम्म पनि रिहा गरिएका उनीबाट कुनै प्रकारको हातहतियार, आपराधिक गतिविधिमा संलग्न रहेको भने पुष्टि हुन सकेको छैन। उनको कोठामा खानतलासी गरी करिब दुइबोरा किताबसमेत प्रहरीले जफत गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।