हिँड्दा हिँड्दै
प्रत्येक श्वासपिच्छे
छुटिजान्छन् पैतालाहरू
पुनश्च:
पछिल्तिर डोबहरू मात्रै छुट्दैनन्
प्रत्येक डोबपिच्छे
एउटा-एउटा इतिहास खोपिएका
आदिम शिलालेखजस्ता पैतालाहरू पनि छुटेका हुन्छन्
तीमध्ये कुनै-कुनैको त
धिपधिप श्वास चलिरहेको पनि हुनसक्छ
कोही त छ
जसलाई प्रत्येक पैतालाहरू खोतली हिँड्न मनपर्छ
किनकि त्यहाँ
बतासको हत्केला टेक्दै जीवनको भीरबाट ओर्लिरहेको
बूढो पातको हरियो आयु भेटिन सक्छ
भेटिन सक्छ चितामा जलिरहेको सिन्दूरको
सुहागरातको सौभाग्य
या हिउँको गर्भमा समाधिस्थ आरोहीले
चुचुरो टेकेको स्वर्णिम बिहान फेला पर्नसक्छ
विरह गाइरहेको एक प्रेमकथा
मध्याह्नको एकलास गोरेटोभरि भुन्भुनाइरहेको पनि भेटिन सक्छ
के थाहा
कतै-कतै निर्जन, अँध्यारा खण्डहरहरूमा
बालकहरूका पुतलीजस्ता पैतालाहरू पनि भेटिन्छन् कि
या कुनै दुष्ट हातले चुँडेर मिल्काएका कलिला मुनाहरू
हाँगामै कबड्डी खेलिरहेका पो हुँदा हुन् कि!
कोही त छ
जसलाई पैतालाहरू खोतली हिँड्न एकदमै मनपर्छ
कति-कति पैतालाहरू छोडेर आइपुगेको हुँ
जीवनको यो छोरसम्म
सबै-सबै छुटेर सक्किसकेछन् तासका पत्तीजस्ता पैतालाहरू
अनि म खेलबाट बाहिरिएछु
अहो! पानी-पानी बीचमा उभिएको छु
अब जहाँ टेकुँ
पैतालाहरू छुटिजाने डोबहरू पर्दैनन्
ती जति-जति छोडिआएँ
फगत छायाहरू मात्रै रहेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।