



काठमाडौं – बुधबार विहान निधन भएका नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहप्रति बिहीबार खेलकर्मीले श्रद्धान्जली व्यक्त गरेका छन्। श्रद्धान्जलीका लागि शाहको पार्थिव शरीर उनको थापाथलीस्थित निवासमा राखिएको थियो।
शाहलाई श्रद्धान्जली व्यक्त गर्न खेलकुदमन्त्री राजेन्द्र केसी पनि पुगेका थिए। क्यानका पदाधिकारी, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्कासहितका क्रिकेटर, खेलकर्मीलगायतको पनि उपस्थिति थियो। शाहको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरियो।
शाहको ८९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार विहान १० बजेर १५ मिनेटमा निधन भएको थियो। तीन दिनअघि घरमा लडेका शाहलाई अस्पताल भर्ना गरिएको थियो। शाहले ४० वर्ष क्यानको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनी २०६३ सालमा क्यानको अध्यक्षबाट हटेर संरक्षक बनेका थिए।
राजा महेन्द्रका साढुभाई समेत रहेका शाह क्यानको टिमबाट विकेटकिपरको भूमिकामा क्रिकेट खेल्थे। उनलाई विश्व क्रिकेटको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आजीवन सदस्यता प्रदान गरेको थियो। गत महिना मात्र क्यानले आफ्नो विशेष साधारण सभामा उनलाई सम्मान गरेको थियो।
शाह एसियाली क्रिकेट महासंघ (एसिसी) को उपाध्यक्ष बन्ने पहिलो नेपाली पदाधिकारी पनि हुन्। भारतीय क्रिकेटलाई माथि उठाउने श्रेय पाएका जगमोहन डालमियासँग उनको विशेष सम्बन्ध थियो। उनले ७०, ८० र ९० को दशकमा नेपाल क्रिकेटलाई अगाडि बढाउन अविभावकको भूमिका निर्वाह गरेका थिए। उनी अध्यक्ष हुँदा नेपालले १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को मान्यता पाएको थियो। यसपछि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ढोका खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।