काठमाडौं– एसिसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गर्दैछ। नेपाली टोली शुक्रबार विहान हिमालयन एयरल्यान्सबाट मलेसिया प्रस्थान गर्न लागेको हो।
मलेसिया उड्नुअघि नेपाली प्र्रशिक्षक विनोद दासले तयारी राम्रो भएकाले उपाधि जित्ने दाबी गरे। ‘हाम्रो प्रमुख लक्ष्य उपाधि जितेर एसिया कपमा छनोट हुने हो,’ दासले नेपाल लाइभसँग भने,‘ब्याटिङमा सुधार गरेकाले मलेसियामा उत्कृष्ट खेल्नेमा ढुक्क छौं।’
दुई महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्व कप छनोटमा खराब ब्याटिङको सिकार हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। ब्याटिङमा नेपाली टोली कमजार भएपछि कन्सल्टेन्ट प्रशिक्षकको रुपमा भारतबाट मोन्टी देसाइ नेपाल आएका थिए। उनले एक साता नेपाली युवा टोलीलाई प्रशिक्षण दिएका थिए। ‘देसाइको आगमनले नेपाली टोलीमा सकारात्मक प्रभाव पारेको छ,’ दासले भने।
अभ्यास क्रममा युवा र सिनियर टोलीबीच खेल भएको थियो। जसमा युवा टोलीले राम्रो ब्याटिङ प्रदर्शन गरेपछि अहिले टोलीको हौसला बढेको छ। ‘सिनियर टोलीसँग अभ्यास खेलमा हामीले राम्रो ब्याटिङ गरेका थियौ, सिनियर टोलीविरुद्ध २ सय ९३ रनसम्म बनाएका थियौं’ दासले भने।
नेपाल समूह ‘ए’ मा सिंगापुर, भुटान र थाइल्यान्डको समूहमा छ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालले पहिलो खेल सोमबार थाइल्यान्डविरुद्ध खेल्दैछ। बुधबार भुटानसँग र विहिबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट पाउने छन्।
यू–१९ नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, सहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन
वैकल्पिक खेलाडी– कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रकास केसी, रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।