काठमाडौं– कवि धर्मेन्द्र नेम्वाङको कवितासंग्रह 'मैले बोल्दा देशको नक्सा हल्लिन्छ' गत शनिबार सार्वजनिक भयो।
कवि बैरागी काइँला, कवि श्रवण मुकारुङ, सिर्जनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता तथा लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा रेग्मीलगायतले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै बैरागी काइँलाले धर्मेन्द्रले सिंगो गाउँलाई नै कविता लेख्न सिकाएको बताए। कवि श्रवण मुकारुङले धर्मेन्द्रले पृथक र लोकतन्त्रको पक्षमा कविता लेख्दै आएको औंल्याए।
कवि नेम्बाङले कार्यक्रममा बोल्दै 'कवि' एउटा शब्दमात्रै नभएको बताए।
रंगवादी साहित्य अभियानका अभियन्ता नेम्वाङको उक्त कविता संग्रहमा ३९ कविता संग्रहित छन्। संग्रहलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो।
मदन पुरस्कार विजेता तथा शृजनशील अराजकताकै अर्का अभियन्ता लेखक राजन मुकारुङले कार्यक्रम सञ्चालन गरेका थिए।
कवि धर्मेन्द्रका रातो बाघ, सामान्य बहुरंगवादः एउटा ट्राभलिङ फिलोसोफीको परिकल्पना, युवा विचार युवा नेपालः आमूल परिवर्तनको एक अवधारणा आदि कृति प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।