काठमाडौं- राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणका खेलहरु सकिँदा खुसी नेपाल, प्रयास ओसिड, थ्री एन्जल्स र बाल मन्दिरको बी टिम अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा थ्री एन्जल्स शतप्रतिशत जित निकाल्दै समूह बीको विजेता बन्यो। बुधबार दुई खेल जितेको थ्री एन्जल्सले बिहीबारको पहिलो खेलमा बालमन्दिरको बी टिमलाई ३–० र दोस्रो खेलमा लाइट हाउस फाउन्डेसनलाई १–० ले हरायो।
बालमन्दिर बीले दोस्रो खेलमा भ्वाइस अफ चिल्ड्रेनबाट बाइ पाएको थियो। समूह एबाट खुसी नेपाल र प्रयास ओसिड सेमिफाइनलमा पुगे। खुसी नेपालले पहिलो खेलमा सोबर रिकभरीलाई ७–० ले हराएको थियो भने दोस्रो खेलमा बालमन्दिरको ए टिममाथि १–० को जित दर्ता गरायो।

प्रयास ओसिडले पनि पहिलो खेलमा बालमन्दिर एलाई २–१ ले हरायो भने दोस्रो खेलमा आयोजक सेल्टर आश्रय नेपालमाथि १–० को जित हात पार्योह। प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुनेछ। सेल्टर आश्रय नेपालको आयोजनामा जारी प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका १० वटा टिमको सहभागिता थियो। सहभागी टिममध्ये उत्कृष्ट खेलाडीबाट रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि नेपाली टिमको छनोट गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।