न्युयोर्क– युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलमा घरेलु खेलाडीले दबादबा कायम गरेका छन्।
महिला एकलमा अमेरिकाका खेलाडी मात्र पुग्न सफल भएका हुन् । अन्तिम क्वाटरफाइनलमा अमेरिकाकी माडिसन किजले इस्टोनियाकी काइए कानेपीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरिन् । १५औं वरीयताकी किजले कानेपीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरिकी हुन्।
यसअघि अमेरिकाका कोको भेन्डेवेघे, भेनस विलियम्स र सलोनी स्टेफिन्सले अन्तिम चारमा सथन पक्का गरेका थिए । सेमिफाइनलमा अब किज र कोको तथा भेनस र सलोनीबीच प्रतिस्पर्धा हुनेछ।
सन् १९८१ पछि युएस ओपनको सेमिफाइनलमा चार अमेरिकी महिला खेलाडी प्रवेश गरेका हुन् । सन् १९८५ को विम्बल्डन ओपनमा पनि सेमिफाइनलमा पुग्ने सबै खेलाडी अमेरिकाका थिए।
सेमिफाइनलमा पुगेका चारमध्ये ३७ वर्षीया भेनस मात्र ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेकी छिन् । अन्य तीन जनालाई भने पहिलोपटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुग्ने अवसर छ।
सेमिफाइनल पुगेकामध्ये भेनसले मात्र मुख्य उपाधि जितेकी छिन् । भेनसले करिअरमा सात वटा मुख्य उपाधि जितेकी छिन् । उनले सन् २००० र २००१ मा युएस ओपनको उपाधि जितेकी थिइन्।
बाहिरिए फेडेरर
पुरुष एकलमा अर्जेन्टिनाका जुवान मार्टिन डेल पोर्टाेले स्विट्जरल्यान्डका रोजर फेडेररलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् । २४औं वरीयताका डेल पोर्टोले फेडेररलाई ७–५, ३–६, ७–६ (१०–८), र ६–४ ले पराजित गरे।
सेमिफाइनलमा अब डेल पोर्टो र शीर्ष वरीयताका स्पेनिस खेलाडी राफायल नाडालबीच प्रतिस्पर्धा हुनेछ । नाडालले रसियाका आन्द्रे रब्लेभलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।