काठमाडौं- सुजित मैनालीको पुस्तक ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ सार्वजनिक भएको छ। आज पाटनमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा पुस्तकमाथि तीन जना वक्ताले धारणा राखेका थिए।
गौरव केसीले पुस्तक ‘भर्चुअल हिस्ट्री’ भएको बताए।
‘पुस्तकका विभिन्न पृष्ठहरुमा ‘यसो नभएर त्यसो भइदिएको भए के हुन्थ्यो, यसो नभएर त्यसो भइदिएको भए के हुन्थ्यो?’ भनेर प्रश्न गरिएको छ। उहाँको विमर्श त्यही प्रश्नको वरिपरि केन्द्रित रहन्छ। समाजशास्त्र र मानवशास्त्रमा त्यस्ता ‘एप्रोच’लाई स्वीकार गरिँदैन। तर इतिहासमा त्यस्तो छैन। पपुलर फर्म प्रश्न गर्न पाइन्छ। त्यसलाई भर्चुअल हिस्ट्री भन्ने गरिन्छ। तसर्थ यो पुस्तक भर्चुअल हिस्ट्री हो’, उनले भने।
अर्का वक्ता सुधीर शर्माले भने पुस्तक मार्फत लेखकले पृथ्वीनारायण शाहलाई ‘रोलमोडल’ बनाउन खोजिएको बताए। ‘पृथ्वीनारायणबाट उहाँ बढी नै प्रभावित हुनुभएको छ’, उनले भने।
उनले इतिहासलाई ‘ब्ल्याक एन्ड ह्वाइट’बाट मात्रै हेर्न थालियो भने गडबड हुने बताए। ‘इतिहासका कतिपय घटना ग्रे जोनमा पनि हुन्छन्। त्यसैले सम्पूर्णतामा हेर्नुपर्छ। ग्रे पार्टलाई पनि ख्याल गर्नुपर्छ’, उनले भने।
लिला न्याइच्याईले प्रश्नहरुले पुस्तक जन्मिएको बताइन्। ‘अघिल्ला शोधकर्ताहरुमाथि प्रश्न उठाएर अनुसन्धान गरिएको छ,' उनले भनिन्।
उनले मैनालीको शक्तिशाली र व्यवस्थित लेखनबाट आफू प्रभावित भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।