काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिपअन्तर्गत हङकङ विरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । नेपालका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १८ सदस्यीय टोली घोषणा गरेको हो।
गत मार्चमा केन्याबिरुद्ध खेलेका स्पिनर शक्ति गौचन र ओपनर सुनील धमला टोलीमा समावेश छैनन् । शक्ति बिरामी भएका कारण राष्ट्रिय टोलीमा नपरेका हुन् । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाका अनुसार शक्ति जन्डिस भएका कारण आराम गरिएका छन्।
‘बिरामी भएकाले आफू आराम गर्ने र नयाँ खेलाडीलाई मौका दिनुपर्ने भन्दै शक्तिले नखेल्ने बताएका हुन्,’ टमाटाले नेपाल लाइभसँग भने।
सन् २०१२ पछि राष्ट्रिय टोलीमा पर्न नसकेका शक्ति राष्ट्रिय टोलीमा पर्न असफल भएको यो दोस्रो पटक हो । २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति पहिलो पटक २०१० को एसियन गेम्सका लागि घोषणा गरिएको राष्ट्रिय टोलीमा पर्न असफल भएका थिए।
दुई वर्ष राष्ट्रिय टोलीबाट बाहिर रहेका शक्तिले २०१२ को टी–२० विश्वकप छनोटबाट पुनरागमन गरेका थिए।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदै छ।
केन्या विरुद्ध ओपनिङ गरेका सुनीलको स्थानमा नरेश बुढाएरलाई मौका दिइएको छ। प्रशिक्षक टमाटाका अनुसार बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा बुढाएरलाई मौका दिइएको हो।
‘हामीले प्रधानमन्त्री कप लगायतका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २५ जनालाई बन्द प्रशिक्षणमा बोलाएका थियौं’ टमाटाले भने, ‘बन्द प्रशिक्षणमा ५ वटा अभ्यास खेल खेल्यौं । त्यसमा राम्रो खेल्ने खेलाडीलाई मौका दिएका छौं।’
ढाडको समस्याले ग्रस्त दिलीप नाथ पनि राष्ट्रिय टोलीमा छैनन् । उनलाई चिकित्सकले केही साता आराम गर्न सल्लाह दिएको टमाटाले बताए । पहिलोपटक बन्द प्र्रशिक्षणमा बोलाइएका सौरभ खनाल र हसिम अन्सारी पनि टोलीमा अटाएका छैनन् । तीव्र गतिका बलर विक्रम शोव पनि टोलीमा छैनन्।
राष्ट्रिय टोलीले दुई साता भारतमा प्रशिक्षण गर्ने टमाटाले बताए । ‘भारतको चेन्नइमा प्रशिक्षण गर्न कुरा भइरहेको छ’, टमाटाले भने, ‘केही दिनमा निश्चित हुनेछ।’
भारत भ्रमणपछि १८ मध्ये १४ खेलाडी अन्तिम टोलीमा पर्नेछन् भने ४ खेलाडीलाई वैकल्पिकमा राखिनेछ।
डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । शीर्ष स्थानको नेदरल्यान्ड्सको १६, दोस्रो स्थानको पपुवा न्युगिनीको १४, तेस्रो स्थानको स्टकल्यान्डको १३, चौथो स्थानको हङकङको ११ र पाँचौं स्थानको केन्याको १० अंक छ। नेपालभन्दा तल रहेका नामिबिया र यूएईको समान ४–४ अंक छ।
नेपालका लागि शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।

नेपाली टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्रकुमार मुखिया, सुशील कँडेल, कुशल भुर्तेल, ललित भण्डारी, सुसन भारी, नरेश बुढाएर, मोहमद आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।