काठमाडाैं- पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोसाक गुन्युचोली, दौरा सुरुवाल कुनै जाति र धर्मका मानिसको मात्र नभएर आम नेपालीको पहिचान भएको बताएका छन्।
राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गुन्युचोली तथा साँस्कृतिक पोसाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।
उनले भने, ‘राष्ट्रिय पोसाक कुनै जाति र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरिएको छ, यस्ता भ्रम चिर्नु आवश्यक छ। नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र वर्षौदेखि चलिआएको पोसाक कसैलाई चित्त नबुझ्दैमा हटाउने र कसैलाई मनलागे राख्ने भन्ने हुँदैन।’
त्यस्तै, कार्यक्रममा बोल्दै अभियानकी संयोजक लक्ष्मी भद्रा ओझाले गुन्युचोली नेपालको साँस्कृतिक पोसाक भएको दाबी गरिन्। उनले भनिन्, ‘नेपाली पोसाक हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ, यद्यपि पछिल्लो समयमा हाम्रा रितिरीवाज, संस्कार क्रमशः लोप हुँदै गएकोले राष्ट्रिय सचेतना अभियानको सुरु गर्नुपर्ने अवस्था आएको छ।'
गुन्युचोली तथा सांस्कृतिक पोसाक राष्ट्रिय सचेतना अभियानले दोस्रो वार्षिकोत्सवमा अभियान्ता मोहना क्षेत्री, दीपा सापकोटा, शान्ती केसी, विजयता नेपाल, आशा दाहाल लगायत सञ्चारकर्मीहरुलाई सम्मान गरिएकाे थियो।
सम्मेलनमा देशभरबाट करिब ३ सयभन्दा बढी सहभागी छन् भने हालसम्म यो अभियानमा स्वस्फुर्तरुपमा ७ हजार महिलाहरु आवद्ध भइसकेकाे अभियानकी सदस्य दीपा सापकोटाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।