



काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीमा ‘डेब्यु’ गरेका जर्जप्रिन्स कार्कीका लागि मंगलबार ताजकिस्तानविरुद्धको खेल विशेष रह्यो। कार्कीले राष्ट्रिय टोलीमा स्थान बनाएको पहिलो खेलमै ‘डेब्यु’ को अवसर मात्र प्राप्त गरेनन्, आफ्ना ‘आइडल’ रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड रोनाल्डो झै ७ नम्बर जर्सी पहिरिने अवसर पाए।
मंगलबार ताजकिस्तानसँग २–१ ले पराजित भएपछि कार्कीले नेपाल लाइभसँग विशेष कुराकानी गरेका थिए। जसमा उनले आफ्नो ‘आइडल’ को नाममा रहेको ७ नम्बर जर्सी पहिरिनु गर्वको विषय भएको जानकारी दिए।
‘आफूले मन पराएको खेलाडीले पहिरिने नम्बर पाउँदा खुसी लाग्दो रहेछ,’ कार्कीले नेपाल लाइभसँग भने। उनले खेलको अन्त्यतिर रोनाल्डोकै शैलीमा फ्रिकिक पनि प्रहार गरेका थिए। रोनाल्डोले फ्रिकिक प्रहार गर्दा पछाडि हटेर दुईवटा खुट्टा फट्याउँदै प्रहार गर्ने ठाउँ हेरेर बललाई हिर्काउने गर्छन्। उनले पनि मंगलबार डेब्यु गर्ने क्रममा इन्जुरी समयमा पाएको फ्रिकिक प्रहारमा रोनाल्डोकै फोटोकपि गरेका थिए। ‘रोनाल्डोले फ्रिकिक प्रहार गर्ने शैली पछ्याउँदै आएको छु। त्यसैले मौका पाउँदा लागु गर्न खोजेको हूँ,’ उनले भने। तर, ४० यार्ड टाढाबाट उनले प्रहार गरेको बलले गोल पोस्टको दिशा लिन सकेन्।

उनले ‘डेब्यु’ मै आाफ्नो देश पराजित हुँदा दुःख लागेको बताए। ‘पहिलो अन्तर्राष्ट्रिय खेल भएर होला सोचेको जस्तो खेल्न सकिन,’ कार्कीले भने, ‘आगागी खेलमा कमजोरी सुधार गर्ने प्रयास गर्नेछु।’
एएफसी एसिया कप छनोटअन्तर्गत ‘समूह एफ’ को खेलमा कार्कीले ६३ मिनेटमा विशाल राईलाई पद्स्थापन गर्दै ‘डेब्यु’ को अवसर पाएका थिए।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी कार्कीको खेलबाट प्रभावित थिए। उनले भविष्यमा कार्कीले राम्रो खेल्न सक्ने विश्वास व्यक्त गरे। ‘जापान भ्रमणमा प्राविधिक कारणले उनी जान पाएनन्, त्यसले उनको खेलमा प्रभाव पारेको हुन सक्छ, ’ कोजीले भने। दुई साताअघि नेपाली टोली १० दिन जापानको ट्रेनिङमा गएको थियो। त्यतिबेला कार्की टिममा समावेश हुन सकेका थिएनन्।
जर्जप्रिन्स कार्की बारे थप जानकारीका लागि
रोनाल्डोका फ्यान जर्जप्रिन्स, भोलि नेपाली टोलीबाट उत्रिन लालायित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।