भैरहवा- रुपन्देही सिमानगरकी सावित्री परियार (३२) को आर्थिक अवस्था निकै कमजोर थियो। विदेश जाने र पैसा कमाउने लालसाले पक्रियाका लागि काठमाडौं पुगिन्। श्रीमान् पनि दुई पटक विदेश गएका थिए। तर, विदेशको पीडा खप्न नसकेर बीचमै फर्किए। यहाँ पनि श्रीमान्ले गतिलो काम नपाउँदा घर चलाउन समस्या पर्यो।
त्यसपछि काठमाडौं गएर सावित्रीले राहदानी बनाउनका लागि आवश्यक कागजपत्र बुझाएर घर फर्किन्। घर फर्किएर थप पैसाको जोहो गर्न थालिन्। तर, त्यसैबीचमा आफन्तले विदेश नजान सल्लाह दिए। उनको मन एकाएक फर्कियो। वैदेशिक रोजगारको मोह त्याग्ने निर्णयमा पुगिन्।
राहादानी तयार छ। तर, उनी लिन चाहँदिनन्।
'विदेशभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्नेमा सोच बदलियो,' उनी भन्छिन्, 'विदेशमा २०/२२ हजार कमाउनुभन्दा स्वदेशमै नुन रोटी खानुको बेग्लै आनन्द छ।'
विदेश जानबाट रोकिएकी उनी अहिले कुखुरा पालन तथा धागो बुन्ने व्यवसायमा रमाएकी छिन्। उनी अहिले विदेशिन लागेका युवापुस्तालाई रोक्नका लागि श्रीमान्ले भोगेको पीडाको उदाहरण दिन्छिन्।
उनको प्रेरणादायी अनुभवले वरिपरिका युवालाई स्वदेशमै क्षमता अनुसार काम गर्न प्रेरणा दिएको छ।
सावित्रीले अहिले मासिक २०/२२ हजार आम्दानी गरेकी छन्। यही रकमबाट छोराछोरीलाई पढाउनेदेखि घरखर्च चलाउँदै आएको उनको भनाइ छ। 'परिवारदेखि टाढा भएर खाडी मुलुकमा गएर पनि लगभग मैले यति रकम नै कमाउने हो,' उनले भनिन्, 'विदेश जाँदा श्रम शोषण र महिला हिंसामा परियो भने जीवन नर्क हुन्थ्यो।'
छोराछोरी र परिवारसँगै बसेर मासिक हजारौं रुपैयाँ आम्दानी भइरहेको भन्दै उनले थपिन्, 'अरु केही चाहिएन। जे जस्तो छ, यसैमा खुसी छु।'

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ४ मा पर्ने सिमानगर पिछडिएको बस्ती हो। जहाँ केही वर्ष अगाडिसम्म रोजगारीको अभावमा विदेशिने युवायुवतीको लहर थियो। खोलाकिनारमा अवस्थित सुकुम्बासी बस्तीका युवादेखि अधबैंसेसम्म खाडी मुलुकका लागि जान्थे। तर, अहिले अवस्था फेरिँदो। उनीहरु स्वदेशीमै रोजगार र सानोतिनो व्यापारमा तल्लीन छन्।
वर्षौंअघि विदेशिनका लागि राहदानी बनाउन लाम लाग्ने उनीहरु अहिले राहदानी हेर्न चाहँदैनन्। भन्छन्, 'विदेशबाट फर्किएकाहरुको पीडा सुन्दा आङ जिरिंग हुन्छ।'
लाखौं कमाउने सपना बोकेर विदेश जानेमध्ये कतिपय पीडा बोकेर बीचमै फर्किन्छन् भने बर्सेनि सयौं युवाको शव बाकसमा आउँदा परिवारले आफूलाई सम्हाल्न सक्दैनन्।
सीमानगर टोल व्यवस्थापन समितीका सचिव मनोहर रसाली विगतमा यस क्षेत्रमा वैदेशिक रोजगारीका लागि जाने लहर चले पनि अहिले उक्त क्रम घटेको बताउँछन्। उनले विभिन्न समाजिक संस्था र स्थानीय स्तरमा आएका जनचेतनाका कारण विदेशिनबाट रोकिएको बताए।
स्थानीय सरकारले पनि होस्टेमा हैंसे गरे यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने प्रेरित युवायुवतीहरु स्वदेशमै रोजगारी/व्यवसायमा रमाउने गर्छन्।
सीमानगरकी परियार जस्तै यस क्षेत्रमा विदेशिनबाट रोकिएका अन्य उदाहरण पनि छन्।
तिलोत्तमा २ जानकीनगरकी सरिता न्यौपाने भण्डारी (३४) पनि वैदेशिक रोजगारीभन्दा स्वदेशमै रोजगार/व्यवसाय गर्नुपर्ने सुनाउँछिन्। घरखर्च चलाउँदै आएका श्रीमान्को दुई वर्षअघि मृत्यु भएपछि उनको परिवार गरिबीमा डुब्न पुग्यो।
घरखर्च समेत टार्न समस्या परेपछि दुई छोराछोरीलाई माइतमा राखेर वैदशिक रोजगारीका लागि कतार जाने निधो गरिन्। राहादानी बनाएर खाडी मुलुक जाने प्रक्रियामा थिइन् उनी। तर, उनी पनि सावित्री झैं अन्तिम समयमा विदेश जानबाट रोकिइन्।
विदेशमा लाखौं कमाउने सपना त्यागेर उनी ८/९ हजार रुपैयाँको रोजगारमा यही रमाएकी छिन्।
सावित्री र सरिता प्रतिनिधि पात्र हुन्। उनीहरु जस्ताको समस्यालाई समाजिक संस्था एबिसी नेपालले स्वदेशमै बसेर समाधान गर्नमा प्रेरित गर्दै विदेशिनबाट रोकेको छ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा एबिसी नेपालको स्वतन्त्रता परियोजना अन्तर्गत घरदैलो कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रमबाट विदेश जान ठिक्क पारेका युवायुवती रोकिएका छन्।
सरिताले अहिले एबिसी नेपालको तिलोत्तमा ३ को वडा कार्यालयमा रहेको सूचना डेस्कमा रोजगारी पाएकी छिन्। वडा कार्यालयका सेवाग्राहीको निवेदन लेख्न परेमा पनि उनी लेखेर थोरधेरै त्यहाँबाट पनि कमाइ गर्छिन्। उनको छोरी (७) स्थानीय पामिर एकेडेमीमा पढ्छिन्। विद्यालयले पहिला ५० प्रतिशत छुट गरे पनि अहिले शुल्क मागेको छैन।
'विदेश जानुभन्दा यति आम्दानीले जेनतेन गुजारा चलिरहेको छ,' उनी भन्छिन्, 'तर विद्यालयले फिस मागेमा समस्या पर्छ।'
एबिसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछेनले यस क्षेत्रका ९० घरपरिवार विदेश जानबाट रोकिई स्वरोजगार भएको दाबी गर्छन्। उनका अनुसार ९ हजार ६ सय २६ जना महिला विदेश जानबाट रोकिएको र ३ हजार ३२ जना आयआर्जनमा संग्लन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।