काठमाडौं– विमल घर्ती मगरले ६१ मिनेटमा गोल फर्काए पनि नेपाल एएफसी एसिया कप–२०१९ को छनोटमा ताजकिस्तानसँग २–१ ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा अतिरिक्त खेलाडीका रुपमा प्रवेश गरेका विमलले ९ महिनापछि अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
नेपाली खेलाडीले पहिलो हाफमा गतिलो आक्रमण बुन्न सकेन। उल्टै ताजकिस्तानका खेलाडीले फितलो मिडफिल्डको फाइदा उठाउँदै नेपाललाई २ गोल हाने। ताजकिस्तानले २६ र ३० को ४ मिनेट अवधिमा २ गोल गरेको थियो।
ताजकिस्तानका लागि डिजालिलोभ मेनुचेरले कर्नरको सदूपयोग गर्दै पहिलो गोल गरे। उनले ६ यार्ड भित्रबाट नेपाली डिफेन्डरको फितलो उपस्थितिमा हेडिङ गोल गरेका थिए।
दोस्रो गोल भ्यासिद दिलसुदले गरे। नेपालले ३९ मिनेटसम्म विमललाई बेञ्चमा राखेको थियो। तर, अग्रपंक्ति फितलो भएपछि जापानी प्रशिक्षक कोजुले नवयुग श्रेष्ठको स्थानमा विमललाई मैदानमा प्रवेश गराएका थिए।
नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा आक्रमक प्रदर्शन गर्यो। यसैबीच विमलले गोल गरे। अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका जर्जप्रिन्स कार्कीलाई पनि दोस्रो हाफमा मैदानमा प्रवेश गराएपछि नेपालले आक्रमणलाई झन तीव्र बनाएको थियो। कार्की विशाल राईलाई विस्थापन गर्दै ६३ मिनेटमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।