काठमाडौं- सन् १९९५ मा अष्ट्रेलियामा स्थापना भएको एक बहुआयामिक इन्जिनियरिङ फर्म माइनहार्टकाे शाखा नेपालमा पनि स्थापना भएको छ।
शाखाको स्थापनासँगै यसले काम पनि गर्न थालेको छ। ‘यो एक बहुआयामिक इन्जिनियरिङ फर्म हो,' माइनहार्टका नेपाल प्रमुख सिदार्थ थापाले भने, ‘यसले मुख्यत: इन्जिनियरिङ कन्सल्टिङको काम गर्छ। साथै योजना बनाउने र व्यवस्थापनको पनि काम गर्छ।’
प्रधान कार्यालय सिंगापुरमा रहेकाे याे कम्पनीका शाखा १६ देशमा विस्तार भइसकेको र नेपालका छिमेकी राष्ट्रमा समेत शाखा खाेलिसकेकाे छ।
नेपाल प्रमुख थापाले माइनहार्ट नेपाल भित्र्याउनुको पछाडि २ वटा कारण रहेको बताए।
‘नेपालमा पछिल्लो २ दशकदेखि राजनीतिक अस्थिरताका कारण काम गर्ने वातावरण नै थिएन। दश वर्ष युद्ध भयो। त्यसपछिको अर्को १० वर्ष संविधान बनाउँदैमा बित्यो। अहिले नेपाल विकासको चरणमा प्रवेश गरेको छ। संघीयता पनि लागू भइसकेको छ,' उनले भने, 'भौतिक पूर्वाधारको योजना बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय भयो भने एउटा आधुनिक नेपालको खाका बनाउन सकिन्छ। विकासको खाका बनाउँदै गर्दा माइनहार्ट जस्तो कम्पनीबाट सेवा लिन र दिन पाउनु राम्रो कुरा हाे।'
‘अहिले जनसंख्या पनि वृद्धि भइरहेको छ। यसको मतलब यो पनि हो कि स्वच्छ आहारविहारमा समस्या छ। पानीको समस्या, विभिन्न रोगहरू फैलिँदै जाने अवस्था आउन सक्छ। विमानस्थल एउटा चोकजस्तो भएर जाने, ठूलो संख्यामा यातायात सम्बन्धी पूर्वाधार नबनाइकन मान्छेहरू एक ठाउँबाट अर्को ठाउँ जान समस्या हुने कारणले पूर्वाधारको योजनाका लागि नेपाल सरकार माइनहार्टसँग समन्वय गरेर एउटा आधुनिक नेपालको खाका कसरी बनाउन सकिन्छ भनेर हामीले पहिलो योजना बनाएका छौं,' थापाले भने।
नेपालमा सरकारी क्षेत्रमा मात्र होइन निजी क्षेत्रमा पनि ठूलो अवसर रहेको उनको भनाइ छ।
‘हाम्रा देशमा इन्जिनियरहरू पर्याप्त संख्यामा छन। इन्जिनियरिङको समस्या छैन। समस्या कहाँ छ भने नेपालमा बनेका ठूला भवन वा कम्प्लेक्स प्रोजेक्टहरुको आर्किटेक्चरदेखि डिटेल इन्जिनियरिङसम्म सबै बाहिरबाट हुन्छ,' नेपाल प्रमुख थापाले भने, 'त्यो बजारलाई हामीले नेपालभित्रैबाट पूरा गर्ने हो। अन्तर्राष्ट्रियस्तरको मापदण्ड भएको डिजाइन नेपालभित्रैबाट हामीले उपलब्ध गराउन सक्छौं भन्ने हाम्रो विस्वास हो। निजी क्षेत्रको त्यो बजारलाई पनि हामीले ध्यान दिएर यहाँ आएका छौं।'
माइनहार्टकाे अर्को विशेषता भनेको प्रोजेक्ट व्यवस्थापन र निर्माणको निरीक्षण पनि भएको थापाको दाबी छ।
‘खानेपानीको आयोजना बनाउँदा पाइप बिच्छ्याइन्छ। त्यसका लागि सडक खनिन्छ। बत्तीको पोल सार्दा सडक फेरि खनिन्छ। त्यसो हुन नदिन र आयोजनाहरूको व्यवस्थापन गरेर एउटै छातामुनी सबै आयोजनाहरूलाई विस्तृतमा अध्ययन गरेर काम गर्ने हाम्रो लक्ष्य हो। पूर्वाधार निर्माणका सबै विभागसँग समन्वय गरेर आयोजनाको व्यवस्थापन र निर्माण निरीक्षणको काम हामी गर्छौं। आयोजनामा ढिलो हुन्छ। आयोजना ढिलो भएपछि लागत बढ्छ,' उनले भने।
योसँगै माइनहार्टले आयोजनामा काम भएको छ वा छैन? भनेर पनि निरीक्षण गर्ने पनि उनको भनाइ छ। ‘नक्सांकन अनुसार काम भएको छ वा छैन भनेर पनि निरीक्षण गछौं,’ उनले भने।
माइनहार्टले एक इन्जिनियरिङ कम्पनी एमजिआई क्यापिटलसँग पनि सहकार्य गरेर अगाडि बढेको उनले बताए।
‘यसले आयोजनाहरूको नितान्त प्राविधिक रुपमा सम्भाव्यता अध्ययनको काम गर्छ,’ उनले भने, ‘प्राविधिक रुपमा कस्तो खालको आयोजना बनाउन सकिन्छ, लागत कति हुन्छ, जस्ता विषयमा पनि अध्ययन हामीले गर्छौं।’
माइनहार्टले कुन ठाउँमा कस्तो खालको आयोजना बनाउन सुहाउँदो छ, लागत कति हुन्छ जस्ता विषयलाई पनि कार्यक्षेत्रमा राखेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।