काठमाडौं– एएफसी एसिया कप–२०१९ छनोट अन्तर्गत ताजकिस्तान विरुद्ध नेपालको उपस्थिति फितलो देखिएको छ।
मध्यपंक्तिबाट राम्रो बल सप्लाई हुन नसकेपछि नेपालले पहिलो हाफमा कुनै गोल गर्न सकेन । उल्टै २६ र ३० मिनेट गरेर ४ मिनेटभित्रै २ गोल खान पुगेपछि नेपालको अवस्था दयनीय बनेको छ । विमल घर्ती मगरलाई बेञ्चमा राखेर मैदान प्रवेश गरेको नेपालका लागि दुवै स्ट्राइकर भरत खवास र नवयुग श्रेष्ठले निराश तुल्याए।
नेपालले ३० मिनेटभित्र २ गोल खाँदा कुनै आक्रमण बुन्न सकेन। नेपालको अवस्था कमजोर भएपछि ३९ मिनेटमा नवयुगको स्थानमा विमल प्रवेश गरेका थिए ।
सुरुको पाँच मिनेट जोसिएर खेलेको नेपाल विरुद्ध ताजकिस्तानका खेलाडीले पाँचवटा महत्वपूर्ण आक्रमण बुनेका थिए। जसमा उनीहरु २ गोल गर्न सफल भए। दुवै गोल नेपालले डिफेन्सको गल्तीले खाएको थियो। पहिलो गोल २६ मिनेटमा डिजालिलोभ मेनुचेरले हेडिङमार्फत गरे । उनले कर्नरमा पाएको बललाई ६ यार्डभित्रबाट गोलमा परिणत गरेका थिए।
अर्को गोल भ्यासिद दिलसुदले गरे । उनले पनि डिबक्सभित्र पाएको बलमा गोल गरेका थिए। नेपालको सामु सेकेन्ड हाफको ४५ मिनेटमा २ गोल फर्काउनुपर्ने चुनौती थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।