ब्राजिलिया– रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गत बिहीबार विश्वकप छनोटमा ह्याट्रिक गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ७८ पुर्याए।
फारोई आइल्यान्डलाई पोर्चुगलले ५–१ ले पराजित गरेको खेलमा ह्याट्रिक गरेसँगै रोनाल्डोले ब्राजिलका महान् फुटबलर पेलेलाई अन्तर्राष्ट्रिय गोल संख्यामा पछि पारे। पेलेले ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए। आफ्नो गोल रेकर्डलाई रोनाल्डोले पछि पारेपछि पेलेले खुसी व्यक्त गरेका छन्। ‘मैले रोनाल्डाको खेल टेलिभिजनमा हेरेँ,’ पेलेले भने, ‘वास्तवमै उनले उत्कृष्ट गोल गरे।’
पेलेले देशका लागि ९२ खेल खेलेर ७७ गोल गर्दा रोनाल्डोले १ सय ४५ खेलमा ७८ गोल गरेका हुन् । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेलेको मुख्य योगदान थियो। रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले गत वर्ष युरोकप जितेको थियो।
आफ्नो समय र अहिलेको परिस्थिति भिन्न भएको बताउँदै पेलेले आफ्नो करिअरको गोल रेकर्ड तोड्न रोनाल्डोलाई चुनौती दिए। पेलेले आफ्नो करिअरमा १२ सय ८३ गोल गरेका थिए। पेलेले भने, ‘अब रोनालडोले १२ सय ८३ भन्दा पनि बढी गोल गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।