स्टुटगार्ट– फिफा विश्वकप २०१८ अन्तर्गत युरोपतर्फको छनोटमा जर्मनीले नर्वेलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीलाई जित दिलाउन मेसुज ओजिलले १०, जुलियन ड्राक्सलरले १७, टिमो वेर्नेरले २१ र ४०, लियोन जिरेट्काले ५० र मारियो गोमेजले ७९ मिनेटमा गोल गरे।
जितसँगै जर्मनीले दोस्रो स्थानको उत्तरी आयरल्यान्डसँग ५ अंकको अग्रता लिएको छ। अन्तिम दुई मध्ये एक खेलमा जित निकाले जर्मनी विश्वकपमा छनोट हुनेछ। जर्मनीले ८ खेलमा २४ अंक जोडेको छ भने दोस्रो स्थानको उत्तरी आयरल्यान्डको १९ अंक छ। आयरल्यान्डले आठौं चरणको खेलमा चेक गणराज्यलाई २–१ ले हरायो। जितसँगै आयरल्यान्डले कम्तिमा ‘प्ले अफ’मा स्थान पक्का गरेको छ। नर्वे र चेक भने विश्वकप छनोट यात्राबाट बाहिरिसकेका छन्।
समूह ‘एफ’को खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई २–१ ले हरायो। इंग्ल्यान्डको जितमा इरिक डिइरले ३७ तथा मार्काेस रास्फोडले ५९ मिनेटमा गोल गरे। त्यसअघि तेस्रो मिनेटमै स्टानिस्लाभ लोबोत्काले गोल गरेर स्लोभाकियालाई अग्रता दिलाएका थिए। जितसँगै इंग्ल्यान्डले ८ खेलबाट २० अंक तथा दोस्रो स्थानको स्लोभाकियाले १५ अंक जोडे। तेस्रो स्थानको स्लोभेनिया र चौथो स्थानको स्टकल्यान्डले पनि समान १४–१४ अंक जोडेर छनोट संभावना कामयै राखेका छन्। विश्वकपमा छनोट हुन इंग्ल्यान्डलाई बाँकी रहेका दुई मध्ये एक खेलमा जित निकाले पुग्छ।
समूह ‘इ’ को खेलमा पोल्यान्डले काजकिस्तालाई ३–० ले, मोन्टेनेग्रोले रोमानियालाई १–० र डेनमार्कले अर्मेनियालाई ४–१ ले हराए। समूहमा १९ अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मोन्टेनेग्रो तथा तेस्रो स्थानको डेनमार्कको समान १६–१६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।