काठमाडौं- प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आज तराई क्षेत्रमा मनाइँदै छ। बुधबार एकआपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवम् हर्षोल्लापूर्वक मनाइएकाे थियाे। आज तराई तथा मधेश क्षेत्रमा हाेली मनाइँदै छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ। यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ।
फागु पूर्णिमाका अवसरमा रङका अलावा भेगीय हिसाबमा गाइने गीत र नृत्यलाई समेत विशेष महत्वका साथ हेरिन्छ। तराई क्षेत्रमा पनि गीत तथा नृत्यमा झुम्दै एकअर्कामा रङ दल्ने परिपाटी छ। जसले सबैमा उत्साह र उमङ्गकाे सञ्चार गराउँछ।
यस पर्वका अवसरमा तराईका विभिन्न जिल्लामा मानिसहरुले जाेगिरा गाउँदै वातावरणलाई संगीतमय समेत बनाउने गर्छन्। पछिल्लाे समय आधुनिकताकाे नाममा माैलिक लाेकसंगीतमा चासाे कम दिइएकाे अवस्थामा हाेलीमा तराई क्षेत्रमा गाइने जाेगिरा पनि निकै कम मात्र सुन्ने गरिएकाे छ। यद्दपि पाका पुस्ताले भने याे संस्कृतिलाई धानिरहेकाे बताउँछन् राजविराजका वैजु जोशी।
‘उच्छृंखलता हटाएर परम्परा र मौलिकता जोगाउन युवा पुस्ताको सकृयता आवश्यक छ’, जाेशी भन्छन्।
जाेशीलकाे भनाइमा सहमति राख्छन् मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव। आधुनिकताका नाममा युवा पुस्तामा देखिएको अन्य गीतप्रतिको मोहले होलीमा गाइने परम्परागत लोकगीत हराउँदै गएको मत छ उनकाे। ‘हाेलीमा पुर्खौली बाजा मृदङ्ग बजाएर जोगिरा गाउने परम्परा खाेइ कहाँ छ?, अब याे परम्परा बिस्तारै लोप हुँदैछ’, उनले भने, ‘पुरानो पुस्ताको अवसानपछि युवा पुस्ताले यो परम्परालाई जोगाउलान् भन्ने लाग्न पनि छोडेको छ।’

तराईका विभिन्न क्षत्रेमा होली पर्वसँग सम्वन्धित हिन्दी, भोजपुरी, मैथिली तथा नेपाली गीत बज्न थालेका छन्। ग्रामिण क्षेत्रमा भने कतिपय स्थानमा एक साताअघि देखिनै ‘जोगीरा’ गाउँने क्रम चलिरहेको छ। होलीको १५ दिनअघि देखिनै गाउँमा हरेक साँझ सामूहिक रुपमा होली गीत गाउँने परम्परा रहे पनि पछिल्लो समय सुस्तता आएको राजविराज-७ का रामकुमार यादवले बताए।
पहिला–पहिला बूढापाकाले रात परेपछि गाउँमा झ्याली, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत ‘जोगिरा’ गाउने गरेको उनी सम्झन्छन्। ‘अबको होलीमा प्रेम र सद्भाव कम छ। भाङ खाएर रमाइलो गर्ने परम्परालाई जाँडरक्सीले विस्थापित गर्दैछ’, यादव थप्छन्, ‘प्रेम र सद्भावको ठाउँ रिसरागले लिँदै गएकाले होलीको पौराणिकता र माधुर्यता पनि हराउँदै गएको छ।’
होली पर्वले युवा पुस्ता मात्र नभई किसान, मजदुर, व्यापारी, गृहणी, कर्मचारी सवैलाई उत्तिकै छोएको छ। बजारमा होली अंकित टि–सर्ट, लोला, पिचकारी, रङ, अबिरलगायतको बिक्री बढेको छ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। आगोले छुन नसक्ने वरदान पाए पनि त्यसको प्रयोग गलत रुपमा गरेपछि होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछाेएको पौराणिक कथा फागु पर्वसँग जोडिएको छ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु (होली) खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको विश्वाससमेत छ।
तराईतिर फागुकाे अघिल्लाे रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि हाेलीकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।
तराईकाे हाेलीका लागि भन्दै केन्द्र सरकारले आज एक दिन तराई बिदा दिएकाे छ भने प्रदेश २ सरकारले भने बिहीबार र शुक्रबार २ दिननै सार्वजनिक बिदा दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।