संसारमा भएका नयाँ–नयाँ प्रविधि र आविष्कारले आज हाम्रो जीवनलाई निकै सहज र सुन्दर बनाइदिएको छ। हरेक आविष्कार आवश्यकताले जन्माएका हुन्। असुरक्षित यौन सम्पर्कले विभिन्न रोग बढ्नुका साथै जनसंख्या अनियन्त्रित हुँदै जाँदा गर्भनिरोधक सामग्रीहरुको आविष्कार भएका हुन्।
गर्भनिरोधक सामग्रीहरुमा सबैभन्दा पुरानो कन्डोम नै हो। कन्डोमका साथै परिवार नियोजनका अन्य वस्तु र विधि कसरी आविष्कार भए त?
कन्डोम
पहिलो कन्डोमको इतिहास रोम साम्राज्य जत्तिकै पुरानो मानिन्छ। सन् १४०० मा लिननको कपडा हातले सिलाएर कन्डोम बनाइन्थ्यो र प्रयोग गरिन्थ्यो। त्यसपछिका समयमा विभिन्न प्रकारका कन्डोम बनाइए। यसै क्रममा भेडा र बाख्राको आन्द्राबाट कन्डोम बनाउन थालियो। त्यो समय कन्डोमको प्रयोग गर्भनिरोधका लागि नभई संक्रमण नियन्त्रणका लागि गरिएको पाइन्छ।
सन् १४०० मा चीनमा धेरै कन्डोम प्रयोग भएको इतिहास छ। जहाँ सिल्क तथा भेडा–बाख्राको आन्द्राबाट कन्डोम बनाउने गरेको देखिन्छ।
कन्डोमको अर्को तथ्य १६औं शताब्दीको आसपास भेटिएको छ। इटालीका अनुसन्धानकर्ता ग्य्राबिएल फेलोपिएसले सिफिलिस नामक यौनरोग हुन र फैलिन नदिनेबारे एक अध्ययन गरेका थिए। उनले एक प्रोटेक्टिभ लिनन कपडाबाट कन्डोम बनाए। जसमा केमिकल पनि प्रयोग गरिएको बताइएको छ। यसको एक छेउ रिबनले बाँधिन्थ्यो।
त्यो समय ग्य्राबिएलले ११ सय मानिसमा यसको प्रयोग गरे। ती कोहीमा पनि सिफिलिस भएन। कन्डोमको पहिलो वैज्ञानिक प्रयोग नै यही मानिन्छ।
त्यो समय कपडाको भन्दा जनावरको आन्द्राबाट बनेको कन्डोम लोकप्रिय थियो। तर, त्यो सहज उपलब्ध हुन्थेन।
पहिलो रबर कन्डोम सन् १८३९ मा बनाइएको थियो। चाल्र्स गुडइअरले १८४४ मा यसको प्रतिलिपि अधिकार लिएका थिए। त्यसपछि उक्त कन्डोम धेरैको प्रयोगका लागि सन् १९५५ मा बनाइएको थियो। जसलाई निरन्तर विकास गर्दै आधुनिक कन्डोमको रुप दिइएको हो।
गर्भनिरोधक चक्की
गर्भनिरोधकको तरिका प्राचीन मिश्रबाट आएको हो। जहाँ महिला विभिन्न प्रकारका चिज खाएर गर्भनिरोध गर्थे। तर, गर्भनिरोधक चक्कीको कुरा गर्ने हो भने यसको सुरुवात सन् १९२१ को आसपास भएको हो।
अमेरिकी अधिकारकर्मी मार्गेट सिंगरले ‘बर्थ कन्ट्रोल’ शब्द प्रयोगमा ल्याएका हुन्। न्युयोर्क ब्रुकलिनमा आफ्नो क्लिनिक खोलेका उनले गर्भ निरोधका लागि सल्लाह दिन्थे। सन् १९३४ मा इन्डोक्राइनोलोजिस्ट ग्रेगरी पिकनसले टेस्ट ट्युब र्याबिट बनाएका थिए।
सन् १९५१ मा मार्गेट र ग्रेगरीको भेट भयो, सँगै डिनर गरिरहँदा उनले ग्रेगरीलाई गर्भनिरोधक चक्की बनाउन भने। सोही वर्ष मेक्सिको सिटीमा एक केमिस्ट कार्ल जेरास्सीले मेक्सिकन एम्सको मद्दतबाट एक गर्भनिरोधक चक्की बनाए। तर, उनको त्यो अनुसन्धान लोकप्रिय भएन।
सन् १९५२ मा ग्रेगरीले मुसामाथि अनुसन्धान सुरु गरे। उनले एक गाइनोक्लोजिस्ट जन रकसँग मिलेर केमिकल टेस्टिङ पनि सुरु गरेका थिए। यसमा एक फर्मा कम्पनीमा चिफ केमिस्ट रहेका फ्र्यांक कोल्टनले पनि जोड दिए। उनीहरुले मिलेर बायोलोजिस्ट र धनाढ्य महिला अधिकारकर्मी क्याथरिन म्याक्कोर्मीसँग आर्थिक सहयोग लिएर अनुसन्धान गरे। सन् १९५४ मा पहिलो गर्भनिरोधक चक्की तयार भयो, जसको प्रयोग ५० महिलामाथि गरिएको थियो। यही नै गर्भनिरोधक चक्कीको पहिलो सुरुवात थियो। त्यसपछि आइपिल जस्ता चक्कीको निर्माण भयो।
कपर टी
कपर टी यस्तो गर्भनिरोधक साधन हो, जुन महिलाको गर्भाशयमा राखिन्छ। आमा बन्न चाहेमा यसलाई निकाल्न सकिन्छ।
यो बनाउने सुरुवातका अनुसन्धाताहरुमध्ये अन्र्स ग्राफेनबर्ग पनि पर्छन्। जसले पहिलोपल्ट चाँदीको प्रयोग गरी आइयुडी बनाए। जसलाई ‘ग्राफेनबर्ग रिङ’को नाम दिइएको थियो। त्यो बेला नाजीहरुले उनको काम अघि बढ्न दिएनन्। त्यसपछि अमेरिकाका एक. होल र एम. स्टोनले उनको काम अघि बढाए।
जापानी डाक्टर टेनराई ओटाले पनि चाँदीको आइयूडी बनाएका थिए। जसलाई ‘प्रेस रिङ’को नाम दिइएको थियो।
आइयुडी अंग्रेजी अक्षर टी आकारको हुने भएकाले यसलाई कपर टी भनिएको हो। यसको आविष्कार सन् १९६० मा अमेरिकाका फिजिसियन हावर्ड टेटमले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।