राजविराज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्विकार गरेका छन्। कांग्रेसको भूमिका प्रभावकारी नभएकै कारण सरकार अराजक र भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ।
जिपी कोइराला फाउन्डेसनको कार्यालय उद्घाटन गर्न बुधबार राजविराज आएका कोइरालाले सबै भातृ संगठनसहित कांग्रेसभित्र राजनितिक संस्कार र नैतिकता ह्रास हुँदा पार्टी कमजोर भएको बताए। ‘कांग्रेस नैतिकता र संस्कारमा अडिएको पार्टी हो। अहिले हामीले संस्कार छोडेका छौं, मेरो चिन्ता त्यही हो’, उनले भने, ‘यही नेतृत्ववाट अब सरकारलाई दबाब दिने र जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने कुरा आशा नगर्दा हुन्छ।’
‘कांग्रेस विपी कोइरालाले विधान बनाएर निर्माण गरेको तथा सुवर्ण समशेर, गणेशमान, महेन्द्रनारायण निधी, कृष्णप्रसाद भट्टराई लगायतले संस्थागत गरेको पार्टी हो’ भन्दै उनले कांग्रेस कोइरालाको मात्र हो वा कांग्रेसमा कोइराला केही होइनन् भन्ने सोच्नु दुबै गलत हुने प्रतिकृया दिए।
सरकार अराजक भयो, दण्डहिनताले सिमा नाघ्यो
नेता कोइरालालले सरकार अराजक र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। ‘प्रधानमन्त्रीले ६ महिना उखानटुक्का भनेरै बिताए। अब शिलान्यासमा लागेका छन्’, उनले भने, ‘पानी जहाजको कार्यालय उद्घाटन गरे। कर्मचारी नभएर तीन दिनपछि बन्द छ।’
महंगी, भ्रष्टाचार र दण्डहिनता मौलाएकोमा उनले चिन्ता व्यक्त गरे। निर्मला पन्त र विराटनगरमा रुपमतिको बलात्कारपछि हत्या भएको विषय कोट्याउँदै कोइरालाले शान्ति सुरक्षाका क्षेत्रमा सरकार असफल भएको र एकपछि अर्को विवादित काम गर्दै गएको भन्दै आलोचना गरे।
‘कैलालीको एउटा घटनामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेको व्यक्ति जेलमै हुँदा चुनाव जित्छ, दबाबमा आएर सरकारले उसलाई सांसदको सपथ ग्रहण गराउँछ अनि फेरी जेल पठाउँछ। यो भन्दा ठूलो दण्डहिनता के हुन सक्छ?’, रेशम चाैधरीकाे सपथलाई लिएर उनले प्रश्न गरे।
मेलम्ची खानेपानी आयोजना, ३३ किलो सुनकाण्ड, विना प्रतिस्पर्धा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई जिम्मा, वाइडबडी प्रकरण लगायतका विषय सरकार अराजक भएका उदाहरण भएको उनकाे भनाइ थियाे।
पुलुवा घटना निन्दनीय
काश्मिरको पुलुवामा भएको घटना निन्दनीय भएको कोइरालाकाे प्रतिक्रिया थियाे। पुलुवा घटना मात्र नभई जुनसुकै आतंककारी गतिविधिको नेपाली कांग्रेसले विरोध गर्ने भन्दै उनले पुलुवा घटनाको जति नै निन्दा गरेपनि कम हुने बताए।
भारत र पाकिस्तानका बीचमा देखिएको तनाबले नेपालसहित दक्षिण एसियालाई नै असर गर्ने उनको जिकिर छ। तर, भारत र पाकिस्तान बीचको तनाबलाई लिएर नपालले बाेलिहाल्नु पर्ने अवस्था भने नभएको उनको भनाइ छ।
भेनेजुएला काण्डमा नेकपा अध्यक्ष प्रचण्डले बाेलेका कारण एउटा देशसँग नेपालको सम्वन्ध चिसिएकाले नेपाल गम्भीर र संयमित भएर अघि बढ्नुपर्ने उनले सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।