काठमाडाैं- नेपालमा जन्मको आधारमा अंगीकृत नागरिकता लिनेहरुको संख्या १ लाख ९० हजार ७ सय २६ जना पुगेको खुलासा भएको छ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै गृह सचिव प्रेमकुमार राईले सो जानकारी दिएका हुन्। उनले जन्मको आधारमा अंगीकृत नागरिकता लिने व्यवस्था संविधान जारी हुनुअघि मात्रै भएको पनि स्पष्ट पारे।
बैठकमा समितिका सदस्यहरुले जन्मको आधारमा अंगिकृत नागरिकता दिन नमिल्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। समितिका सदस्य प्रेम सुवालले जन्मको आधारमा अब अंगीकृत नागरिकता दिन संविधानअनुसार नै नमिल्ने भएकाले सरकारले सोहीअनुसारको कानुन बनाउनुपर्नेमा जाेड दिए।
सुवालले अंगीकृत नागरिकताको सट्टा राष्ट्रिय परिचय-पत्रको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। समितिका सदस्यहरुले राष्ट्रिय परिचय-पत्र जारी गर्दा मुलुकको राष्ट्रिय सुरक्षालाई विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।