काठमाडौं– एएफसी एसियन कप–२०१९अन्तर्गत समूह ‘एफ’को छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेका नेपाल र ताजकिस्तानले एक-अर्का विरुद्ध जित निकाल्ने लक्ष्य बनाएका छन्।
आमनेसामने हुनु एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले जितका लागि खेल्ने बताएका छन् । दुई देश मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अपराह्न ३ बजे भिड्दै छन् ।
सुरुवाती दुई चरणका खेल सकिँदा दुवै टोलीले जित निकाल्न सकेका छैनन्। दुवै खेलमा पराजित भएको ताजकिस्तान अंकविहीन छ । फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले यमनसँग गोलरहित बराबरी खेलेर १ अंक जोडेको थियो । दुवै टोलीका लागि छनोट यात्रा जीवित राख्न तेस्रो चरणको खेल महत्वपूर्ण छ।
नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले नेपालको लक्ष्य जित रहेको बताए । ‘हामी सकेसम्म जितका लागि खेलेर ३ अंक जोड्न चाहन्छौं, हारले छनोट यात्रा कठिन बन्ने भएकाले हामीले कम्तीमा बराबरी खेल्नुपर्छ,’ कोजीले भने । उनले ताजकिस्तानमाथि नेपालले जित निकाल्न सक्ने दाबी गरे।
‘मैले ताजकिस्तानको खेल हेरेर विश्लेषण गरेको छु, रणनीतिअनुसार खेल्न सके नतिजा हाम्रो पक्षमा आउँछ,’ कोजीले भने।
उनले टोलीमा रहेका २३ खेलाडी नै उत्तिकै क्षमतावान् भएकाले सबै खेलाडी पहिलो रोजाइमा पर्न सक्ने बताए । राष्ट्रिय टोलीमा पहिलोपटक परेका जर्जप्रिन्स कार्कीले डेब्यु गर्नसक्ने पनि कोजीले संकेत गरे।
नेपाली टोलीका कप्तान विराज महर्जनले नेपालले रक्षापंक्तिमा विशेष ध्यान दिनुपर्ने बताए । ‘हामीले रक्षापंक्तिमा ध्यान दिन सके खेल जित्न सक्छौं’, महर्जनले भने।
ताजकिस्तानका प्रशिक्षक फुलेलोर खाकिमले राम्रो तयारी गरेकाले जित निकाल्नेमा विश्वस्त रहेको बताए ।
‘हामीले सुरुवाती दुई खेल हारिसकेका छौं,’ खाकिमले भने, ‘यस्तो अवस्थामा हामी नेपाल विरुद्ध जितका लागि खेल्नेछौं ।’
उनले नेपाल बलियो टोली भएकाले मंगलबारको खेल रोमाञ्चक हुने अपेक्षा गरे । तर, नेपालको घरेलु मैदानमा खेल्ने भए पनि कुनै दबाव महसुस नगरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।