काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी बने ताप्लेजुङ मायम घर भएका सुकवीर भटराई। उनले आफूले देखेका दृश्य यसरी शब्दमा व्यक्त गरे।
हामी घाँस काट्न लागेका थियौं। हिजो अस्तिभन्दा आज धेरै चिसो थियो। अलिअलि पानी पनि परेको थियो। हिउँ पनि परिरहेको थियो। हामी जाँडो भगाउँन रुखको फेदमा सुकेका दाउरा जम्मा गरेर आगो तापिरहेका थियौं।
पाथीभरा मन्दिर दर्शन गर्न सँधै हेलिकोप्टरको भिड लाग्ने हामीलाई हेलिकोप्टर आउनु नयाँ लागेन। तर हिँउ परिरहेको बेला कमैमात्र हेलिकोप्टर आवतजावत गर्थे।
खराब मौसमका कारण आज कम थियो हेलिकोप्टरको चहलपहल।
यहीबीचमा उताबाट हेलिकप्टर आयो। नजिकै हेलिकप्टर आएको हामी हेरिरहेका थियौं। नजिक आएर उडेको देखेर हामी पनि उठेर हेर्दै थियौं।
हेर्दाहेर्दै हेलिकोप्टर पहरामा गएर गर्लम्म ठोक्कियो।
एउटा पङ्खा उछिट्टिएर कृष्णभिरतिर उछिट्टियो। अनी धुँवा निस्क्यो। आगो बल्न थाल्यो।
हेलिकोप्टर ठोक्किएको ठाउँ सिधा हिँड्दा बढीमा एक किलोमिटर टाढामात्र थियो।
आँखैअघि भएको त्यस्तो घटना सपना जस्तो लाग्यो।
कुहिरोले मौसम घुम्म हुन लागेको थियो। १२ बजेर ४५ मिनेट गएको थियो। हिउँ पनि पर्दै थियो। नजिकैबाट गएको हेलिकप्टर ठोकिएको देखेर हामी तर्सियौं। सातो गयो। हतारहतार फोन झिकेर जिल्लाको ठानामा फोन गरे। ठुलो फेदीमा रहेको आफ्नै होटल र पुलिसलाई फोन गरे।
सत्यनाश भइसकेको थियो। ठुलामान्छेहरू रहेछन्। आँखैअघि त्यस्तो भएको सपना जस्तो लाग्यो।
घटनास्थल पुग्दा आगो लागिरहेको थियो।
माथिल्लो फेदीबाट पुगेका स्थानीय घनश्याम पौडेलका अनुसार घटनास्थलमा आगो लागिसकेको अवस्था थियो।
उनले हेलिकप्टर भिरमा ठोकिएर दुर्घटनामा परेको हुन सक्ने बताए।
‘प्रहरी र हामीसँगै पुग्या थियौं। हामीलाई एक घन्टा लाग्यो,’ उनले भने ‘यस्तो हृदयविदारक घटना कहिल्यै देखेको थिएन।’
भौगोलिक रुपमा निकै कठिन ठाउँमा घटना भएको थाहा पाएर पुग्दा त्यहाँको अवस्थाले भावविह्वल बनाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।