काठमाडौं- राष्ट्रिय बीमा संस्थानमा यसवर्ष मात्र करिब ३ लाख कर्मचारीको सावधिक जीवनबीमा थप भएको छ। पूर्ण सरकारी स्वामित्व रहेको संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यसवर्ष मात्रै सो संख्यामा कर्मचारीको बिमा गरिएको विवरण उल्लेख छ।
'हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब २ लाख ९८ हजार बीमित रहेको छन्। यस बर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बिमा थप गरिएको छ,' संस्थानका प्रशासक कविप्रसाद पाठकले भने।
अधिकृत पूँजी ५० करोड र चुक्तापूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको संस्थानले ठुला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीको समेत बिमा गर्दै आएको छ।
यसै आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरिएको जानकारी दिंदै प्रशासक पाठकले भने, '१ अर्ब ५१ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ।'
संस्थानले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूंजी र २ अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकास कम्पनीमा १ अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको समेत संस्थानका प्रशासक पाठकले बताए।
वि.सं २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यावसायिक कारोबार सुरु गरेको थियो।
स्थापना कालदेखि नै नाफामा रहेको संस्थानले नेपाल सरकारलगायत संस्थापक शेयरधनीलाई लाभांश र सरकारलाई कर समेत गरी ३५ करोड रपैयाँ वार्षिक राजस्व बुझाउँदै आएको छ।
नेपाल सरकार समेत संस्थापक सेयरधनी रहेको संस्थानमा नेपाल राष्ट्र बैँक तथा नेपाल बैंक लिमिटेड समेत संस्थापक सेयरधनी रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः २७ दशलमव ७८ प्रतिशत, ५५ दशलमव ५५ प्रतिशत र १६ प्रतिशत ६७ प्रतिशत रहेको सेयर छ।
सेवा र प्रविधिमा ध्यान दिन आवस्यक : उपप्रधान तथा रक्षामन्त्री पोखरेल
संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बिमाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकुल सेवाप्रवाहमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
प्रतिस्पर्धी बन्दै गएका बीमाका योजनालाई समय सुहाउँदो बनाउँदै बीमकसामु संस्थानले आफूलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने धारणा राखे। उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुततर गतिमा विकास गर्नुपर्नेमा पनि जोड दिए।
अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्घि तथा सुरक्षित बचतका लागि बिमा व्यवसायका माध्यमद्वारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बिमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानकै भएकाले प्रतिष्पर्धी बन्नुपर्ने बताएका थिए। कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुका क्षमता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए।
नवीनतम प्रविधिको विकाससँगै सर्वसाधारणमा बीमाको आवश्यकता पनि भिन्न-भिन्न हुँदै गइरहेको भन्दै उनले अनुसन्धानमुखी भई आवश्यकता अनुसारका बीमा लेखहरु सहित दक्ष जनशक्तिका माध्यमबाट ग्राहकलाई सुरक्षण प्रदान गर्न उनले संस्थानको ध्यानाकर्षण समेत गराएका थिए।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिसपर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थानलाई आग्रह गरे।
संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए।
वार्षिकोत्सवका अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने ३ जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।