काठमाडौं- सर्वनाम थिएटर यतिबेला पुतली गाउँमा परिणत भएको छ। अनुहारमा मास्क लगाएर मञ्चमा आइपुगेका छन्, पुतली गाउँका बासिन्दाहरु। कहिलेकाहीँ उनीहरू आफ्नो पहिचान भुलेर द्विविधामा परेझैं लाग्छ। घरीघरी एक-अर्काप्रति आक्रोश पोखेझैं। तर, तत्कालै आफ्नो भूमिकामा उनीहरु हाजिर भइहाल्छन्।
आखिर को हुन् उनीहरू?
–तारा जातका मानिस!
अर्थात्, सदियौंदेखि हेपिएका र पेलिएका समुदाय। कुलीन वर्गका मानिसले होच्याएर भन्दा ‘तल्लो जात’। जो अरुका लागि चम्कन्छन्। अरुका लागि बाँच्छन्। तर, उनीहरू आफ्नै उज्यालोबारे बेखबर छन्।
OOO
माघ १८ गतेदेखि सर्वनाममा मञ्चन भइरहेको छ नाटक ‘पिँजडाकी चरी’। नाटकको पहिलो दृश्यमा नै ‘भूत’जस्ता लाग्ने दुई पात्र देखापर्छन्। अर्कै ग्रहबाट आएजस्ता।
दृश्य यति प्रेमिल छ, कौतूहल र आकर्षणले दर्शक रोमाञ्चित बन्छन्।
जुनेली रात। जोडीको प्रेमोत्सव। सामुन्नेमा हार्मोनियमको मिठो धुन।
प्रेमीका हातका औंला हार्मोनियममा नाच्छन्, औंलाहरूले धुन सिर्जना गर्छन्। प्रेमीको अनुहारमा प्रेम खोजिरहेकी प्रेमिका धुनले लालयित हुन्छे। त्यही उत्साहमा प्रेमी गीत गाउन तम्सन्छन्। तर, स्वरले साथ दिँदैन। संगीत भंग हुन्छ। र, प्रेम पनि।
प्रेमिल यो दृश्य एकाएक प्रेमिकाको चिच्याहटले विद्रुप बनिदिन्छ। यो कर्कश आवाजले दर्शकको समेत ध्यान भंग हुन्छ।

त्यतिबेला मनमा एउटा प्रश्न उब्जन्छ, ‘के उनीहरू प्रेमी थिएनन्?’
हो, उनीहरू प्रेमी थिएनन्। उनीहरू रंगमञ्चका कलाकार थिए। प्रेमी बनेको पात्रले नाटकको लय बिगारेपछि प्रेमिका पात्र उसमाथि खनिन्छे।
कथा थियो वा नाटक?
यतिबेला दर्शकहरू अलमलिन्छन्। यसरी दर्शक भ्रम र वास्तविकतासँग धेरै पटक झुक्किनुले नै नाटकको अर्थ राखेको छ।
नाटकभित्रका पात्रले नै अर्को नाटक मञ्चन गरिरहेका छन्। पात्रहरूले झुक्याउँछन्, तर अल्झाउँदैनन्। वर्षौंअघिको कथा उनीहरू सुनाउन चाहन्छन्। उनीहरूको एउटै उद्देश्य छ– कथाले न्याय पाओस्।
नाटकका पात्रहरू भरसक यसैमा प्रयसारत छन्।
पिँजडाकी चरीझैं बिलकुल बाँधिएकी छु म
जहाँ मेरो पीडा
म बाहेक कसैलाई थाहा छैन
पृष्ठभूमिबाट कविताको कम्पन सकिन लाग्दै अर्को दृश्य सुरु हुन्छ। दृश्यमा एउटा वृद्ध मानिस हातमा पिँजडा बोकेर देखापर्छन्।
त्यो पिँजडाबारे एकदिन नातिले उनलाई प्रश्न गर्छ, ‘हजुरबा, त्यो पिँजडामा चरीलाई किन थुन्नुभएको?’
‘तेरी हजुरआमा पहिले मेरो लागि मिठो गीत गाउँथी। तर,अहिले ऊ छैन। गीत सुन्नका लागि मैले यो चरीलाई थुनेको हुँ।’
तर, नाति मोहनलाई यो चित्त बुझ्दैन। माथि उडिरहेको चिल हेरेर भन्छ, ‘अनि त्यो चिलले चाहिँ गाउँदैन।'
हजुरबाको जवाफको आसय– चिल त स्वतन्त्र प्राणी हो।
त्यसपछि मोहनले आफू चिल बनेर स्वतन्त्र भई माथिमाथि उड्ने सपना देख्न थाल्छ।
मोहनको प्रेमिका थिई कुसुम। उनीहरू लुकीलुकी प्रेम साट्थे। मोहन कुसुमको लागि गीत गाउँथ्यो।
मोहनको घरमा हजुरबा र मोहन मात्रै हुन्छन्। कुसुमको घरमा ऊ, बहिनी सुख्ली र हजुरआमा।
यी दुई घरबीचको सम्बन्ध निकै प्रगाढ थियो। उनीहरूलाई लाग्थ्यो– संसार कति सुन्दर छ।
तर, उनीहरूको सुन्दर संसारमा भिलेन देखापर्छन्– जमिनदार दयाराम र मन्त्री। (उनीहरू सम्भ्रान्त वर्गको प्रतीक हुन्।)
मन्त्रीले जमिनदालाई सबै जग्गा बेचिदिएपछि दयारामले पुतली गाउँको सबै जग्गा हडप्छन्। त्यसपछि मोहन र कुसुमको सपनामा आगो दन्कन्छ।
मोहन क्रान्ति गर्न चाहन्छ। दयाराम र मन्त्रीलाई सिध्याउन चाहन्छ। तर, कुसुम यो चाहन्न कि मोहनलाई आफूबाट छुटाऊँ। क्रान्तिको बाटोमा जान दिऊँ।

‘हाम्रो लागि हाम्रो मुस्कान भनेकै धर्ती र सूर्य थियो तर एकदिन कसैले आएर भन्यो, ‘त्यो सूर्य तेरो होइन,’ मोहनले कुसुमलाई सम्झाउँदै भन्छ, ‘मेरो हातमा हेर, उम्लिरहेको रगत देख्यौ? यो कुनै सैनिकको रगत होइन। यो किसानको रगत हो। म मेरो नंग्राहरू यही जमिनमा खियाउन चाहन्छु। हाम्रो पुर्खाहरुले झैं। यो मेरो पुर्खाहरुको लागि हो। यो गाउँ मेरो हो जसरी यो रगत मेरो हो।’
तर, कुसुम क्रान्तिबाट मोहनलाई गुमाउन चाहन्न। यद्यपि, मोहन आफ्नो विरासत फकार्उने ध्याउन्नमा छ।
उनीहरूको सम्बन्धमा हुरी आउँछ।
त्यसै रात मोहनका हजुरबाले आँसु चुहाउँदै भन्छन्, ‘बाबु, कसैलाई पनि जबरजस्ती गीत गाउन नलगाउनू।’
त्यस रात मोहनले घर छाडी हिँड्छ। हिँड्नुअघि हजुरबाले थुनेको पिँजडाको चरीलाई मुक्त बनाउँछ।
‘म जाँदैछु। म पहाडमा जाँदैछु। म चिलझैं स्वतन्त्र हुन चाहन्छु।’ यति भनेर मोहन त जान्छ चिलझैं उडेर।
र, त्यसै रात चरी पनि मुक्त हुन्छे।
तर, के चरीजस्ता भर्भराउँदो उमेरका कुसुम र सुख्ली मुक्त भए त?
यो प्रश्न जन्मन नपाउँदै सुख्ली र कुसुम दयारामको दास हुन बाध्य भए। पिँजडाको चरी त उडी। तर, उनीहरू उड्न सकेनन्। पिँजडामा थुनिए अरु नै चरी।
OOO
नाटकमा प्रयोग गरिएका फरक शैलीले दर्शकको ध्यान तान्छ। तर, कथानकको अन्तिममा भने क्रम टुटेको छ। नाटक हेर्दा दर्शकहरू चाहन्छन् कि घटना संयोग मात्र होस्। तर, कथाको अन्तिमका केही दृश्य सुनियोजित लाग्छन्। मोहन आउनु, सुख्ली स्वतन्त्र हुनु।
नाटकमा कुसुमको हत्या गर्छ दयारामले। मोहनले दयारामको। कुसुमको हत्या गरिएको दृश्य कारुणिक हुनुपर्ने हो। तर, कारुणिक देखिन्न।
सुनियोजित जस्ता लाग्ने यी दृश्यले प्रश्न उमार्न बाध्य पार्छन्।
OOO
यथार्थवादी नाटकमा शैली भने अयथार्थवादी अपनाइएको छ। नाटकको प्रस्तुति परम्परागत ढर्राबाट बाहिर छ। पुराना कथालाई नयाँ तवरले प्रस्तुत गरिएको छ।
नाटकमा जम्मा ४ जना कलाकार छन्। दयाराम र मोहनको भूमिकामा मनोज महर्जन, सुख्ली र कुसुमको भूमिकामा भूमिका थारु, मन्त्री र हजुरबाको भूमिकामा पाश्लाक्पा शेर्पा र हजुरआमाको अभिनयमा सुनिता बाडे।
भूमिका थारुको कविता 'अ लिटल बर्ड इन अ केज'मा आधारित नाटकलाई फ्रान्सका युवा रंगकर्मी म्याक्सिम सिसडले निर्देशन गरेका हुन्। यसका लागि उनी एक महिना नेपाल बसेका थिए।
नाटक फागुन ४ गतेसम्म जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।