काठमाडौं- मेयर निर्वाचित भएसँगै विद्यासुन्दर शाक्यले काठमाडौंलाई एक सय एक दिनभित्र कायापलट गर्ने भनेर आफ्ना एक सय एक कामको सूची नै सार्वजनिक गरे। शाक्य मेयर बनेको एक सय दिन बितिसके पनि उनले अघि सारेका योजना अलपत्र छँदै छन्, महानगरको अवस्थामा थोरै पनि सुधार देखिएको छैन।
मेयरको घोषणा अनुसारको काम नभएपछि उनी विरूद्ध असन्तुष्टि र टीका-टिप्पणी सुरू भइसकेको छ । उनै शाक्यको विकासे गफलाई फिल्म निर्देशक निश्चल बस्नेतले समेत टिप्पणी गरेका छन् ।
उनले आफ्नो फेसबुक एकाउन्टमा शाक्यका नाममा खुलापत्र लेख्दै व्यङ्ग्यात्मक रुपमा असन्तुष्टि पोखेका छन्। निश्चलले फेसबुकमा लेखेका छन्:
प्रिय काठमाडौंका मेयरज्यू,
धन्यवाद !
साँच्चै नै परिवर्तन महसुस गरिरहेको छु मैले मेरो काठमाडौंमा आजकल । न बाटोमा हिँड्दा खाल्डोमा खस्ने डर छ, न फोहोर मैला गनाउने । न कतै भूकम्पले भत्किएका घर छन्, न विस्थापितको वेदना, न जाम हुने समस्या छ, न धूलोले बिरामी हुने त्रास । जता जान्छु खुसियाली देख्छु, अनि घरिघरि तपाईंका एक सय दिने वाचाहरु सम्झन्छु । त्यसैले म ढुक्क भएर सुतिरहेको छु । तपाईं हुनुहुन्छ, त्यही भएर स्मार्टफोनमा इम्बोस्ट नम्बर प्लेटको डिजाइन हेर्दै छु । बेलाबेलामा कुचो बोकेको, रिबन काटेको फोटो पनि हेर्ने मौका दिनुहोला।
उही तपाईंको स्मार्ट सिटीको एक अल्छी नागरिक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।