बिहान उठेर पत्रिकामा आँखा डुलाउँदा सोच्न मन लाग्छ– म कहाँ र कस्तो दुनियामा छु? के यो देशमा सकारात्मक समाचारहरु नभएका हुन्? कि समाचार बनाउनेहरु नै सकारात्मक सोचका छैनन्?
हरेक दिनजसो बलात्कार र घुसखोरीका समाचार लेख्नु र सम्प्रेषण गर्नु नेपाली सञ्चारमाध्यमको प्रमुख कामजस्तै भएको छ। सिंगो नेपाली समाजले आफ्नो संस्कृति, परम्परा, चालचलन सबै बिर्सेजस्तो छ। एउटा सभ्य समाज विचलित भएजस्तो छ। सानाले ठूलालाई र ठूलाले सानालाई गर्ने व्यवहारमा परिवर्तन भएजस्तो छ।
सकारात्मक समाचार सुन्न र पढ्न पाउनु पनि एकादेशको कथाझैं लाग्न थालेको छ। उदेक लाग्छ, हामी के खालको समाज स्थापना गर्दैछौं जसले आधारभूत नीति–नियम पनि ध्वस्त पारोस्।
मिठो–मसिनो खाएर समाज र देशका लागि चिन्ता गर्नेहरु पनि यति बिघ्न स्वार्थी कसरी भए? एकले अर्कोलाई सम्मान गर्ने हाम्रो समाज कसरी आफ्नो विरोध गर्नेको अस्तित्व महसुस नै गर्न नचाहने भयो? चिन्ताको विषय बनेको छ।
हिजोसम्म नेपाली भनेर गर्व गर्ने नेपाली जाति आज विभिन्न जातजाति, भाषाभाषी र क्षेत्रमा विभक्त भएको छ। हामीमा हरेक कुरामा शंका गर्ने बानी नै बसिसकेको छ। हरेक कुरा आफैंले सोचेजस्तो हुनुपर्छ भन्ने दिशातर्फ अगाडि बढ्दै छ नेपाली समाज।
कुनै पदमा पुग्नु भनेको संसार जित्नु र पद बाहिर रहनु जीवन नै हार्नु हो भन्ने भावनाले समाज खल्बलिंदै गएको अवस्था छ। गरिब र पहुँच नभएकाहरु सामाजिक प्राणी नै हैनन् भन्ने सोचको विकास हुँदैछ। हरेक समस्यालाई राजनीतिमा लगेर जोड्न थालिएको छ। जबकि यो देश नेताले मात्र बिगारेका हुन्। के यहाँ सबै नेता फटाहा र अवसरवादी मात्र छन् त?
जति सजिलो प्रश्न उठाउन छ, त्यति सजिलो छ जवाफ खोज्न पनि। हो हामी नेपालीमा इमान्दारिताको कमीले नै यी माथिका प्रश्नवाचक चिह्न लागेका हुन्। सोचौं पछिल्लो समय हामीले आफ्नो कामकर्तव्यलाई कसरी निर्बाह गर्यौंह। हामी सबैले आ-आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा गरेको भए समाज यस्तो बाटोमा जाँदैनथ्यो।
यो समाज र देशलाई यसरी असामाजिक बनाउनमा सबैभन्दा ठूलो हात हाम्रै छ। अब पनि यसरी नै अगाडि बढ्दै जाने हो भने हाम्रा सन्ततिले के सिक्लान्? यो विषयमा गम्भीर भएर सोचिएन भने यो पुस्ता जुगजुगका लागि कलंकित हुनेछ।
यो देशमा परिवर्तनका लागि हरेक पुस्ताले रगत, पसिना बगाएका छन्। तर हरेक पटक भएका परिवर्तनलाई संस्थागत गर्न सकिएको छैन। पछिल्ला तीन दशकमा धेरै कस्ट सहेर नेपाली जनताले ठूलाठूला परिवर्तन गरेका छन्, तर ती परिवर्तनले भविष्यको रेखा कोर्नेभन्दा झन् अँध्यारोतर्फ धकेलेको अभाष भइरहेको छ। यस प्रश्नको जवाफ कसले दिने?
यी सबै कुराको जवाफ अरुसँग माग्ने भन्दा पनि आफू कति इमान्दार छु भनेर आफैंसँग माग्नु जरुरी देखिन्छ। हामी कति इमान्दार भयौं देश र समाजप्रति? अबको समाज कस्तो बनाउने कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हाम्रो पनि हो।
यो देश र समाजमा बाहिरबाट आएर कसैले परिवर्तन गरिदिने होइन। सबैले आआफ्नो ठाउँबाट इमान्दार भएर आफ्नो कामकर्त्यव्य पूरा गर्योल भने अवश्य पनि परिवर्तन सम्भव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।