काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनपछिको कार्यक्रम महासमिति बैठक भर्खरै सकिएको छ। डेढ हप्ते उछिनपाछिन र घोचपेचपछि बल्लतल्ल सकिएको १०औं महासमिति बैठकलाई कांग्रेसले नेताहरूले भने उपलब्धिमूलक ठानेका छन्। खासगरी, उनीहरूले संरचनागत नीतिमा नयाँ प्रस्थानबिन्दु (स्ट्रक्चरल पोलिसी डिर्पाचर) भएकाले यो नै महासमितिको ठुलो उपलब्धि मानेका छन्।
देशको संघीय संरचना अनुकूल विधान परिवर्तन गरेको र संविधानमा भएको समावेशिताको व्यस्थालाई सबैभन्दा पहिले आफ्नो पार्टीले संस्थागत गरेको भन्दै कांग्रेस नेताहरू महासमितिबाट निकै उपलब्धि हात लागेको भन्दै दंग परेका छन्। र, त्यो खुसी कार्यकर्तासम्म सञ्चार गर्ने प्रयासमा पनि छन्।
ती उपलब्धिका माझ ‘कांग्रेस कस्तो सांगठनिक संरचना भएको पार्टी हो?’ भन्ने कुराले चाहिँ अझै मूर्त रूप लिन बाँकी छ। सांगठनिक संरचनाका हिसाबले मूलतः राजनीतिक पार्टी 'मास बेस्ड' अर्थात् जनतामा आधारित र 'क्याडर बेस्ड' अर्थात् कार्यकर्तामा आधारित हुन्छन्।
प्रश्न उठ्ने गर्छ कांग्रेस कस्तो पार्टी हो त?
न मास, न क्याडर
अहिलेको सांगठनिक संरचनाअनुसार कांग्रेस न मास बेस्ड पार्टी हो, न त क्याडर बेस्ड नै। यसअघि 'साधारण' र 'क्रियाशील' गरी दुई प्रकारको सदस्यता रहने कांग्रेसमा भर्खरै सकिएको महासमिति बैठकले साधारण सदस्यता प्रणाली हटाएर सदस्य र क्रियाशील सदस्यको व्यवस्था गरेको छ। पछिल्लो व्यवस्थाअनुसार कांग्रेस 'मास'तिर जान खोजेको पनि छ र 'क्याडर'को लोभ पनि छाड्न सकेको छैन। त्यसैले कांग्रेसको अहिलेको सांगठनिक संरचना न त मास बेस्ड हो, न क्याडर बेस्ड नै।
यो कुरालाई कांग्रेस नेताहरूले नै स्वीकार गर्दै आएका छन्। कांग्रेस नेता गगन थापा लगायत १२ जना यूवा नेताको समूहले गत निवार्चन लगत्तै बसेको केन्द्रीय कार्यसमिति र महासमिति बैठकमा छुट्टै प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा कांग्रेस न मास बेस्ड, न क्याडर बेस्ड भएको उल्लेख छ। ‘हाल साधारण र क्रियाशील गरी दुई प्रकारको सदस्यताको व्यवस्था छ,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘यस्तो सदस्यता प्रणालीअनुसार हामी न मास बेस्ड रह्यौं, न त क्याडर बेस्ड नै बन्न सक्यौं।’

संघर्षकालमा बनाएको सदस्यता संरचनाले समाज र अर्थ-राजनीतिमा आएको परिवर्तन आत्मसात गर्न नसक्ने भन्दै उनीहरूले पार्टीको सांगठनिक संरचनामा ठुलो फेरबदलको आवश्यकता औंल्याएका छन्।
उनीहरुले विकल्प पनि सुझाएका छन्।
‘पार्टीमा दुई प्रकारको सदस्यता खारेज गर्ने, पार्टीको सदस्यतालाई खुल्ला गर्ने र यसरी बनेका पार्टी सदस्यहरूले पार्टीको तल्लो तहका समितिहरू तथा महाधिवेशन प्रतिनिधीहरूलाई चुन्ने व्यवस्था गर्ने,’ यो उनीहरुले विकल्पका रुपमा प्रस्तुत गरेको प्रस्ताव थियो।
उनीहरूले सुझाएको यो विकल्प पार्टी संगठन संरचनालाई मास बेस्डतर्फ उन्मुख गराउने प्रकृतिको छ। तर, महासमिति बैठकमा यसबारै छलफल नै भएन।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्याडर वेस्ड पार्टी हो। नेकपाका झन्डै ७ लाख संगठित सदस्य रहेकामा तीमध्ये केही सदस्य पूर्णकालीन (होल टाइमर) पनि छन्।
संर्घषकालीन समयमा राज्यविरुद्ध लड्दा मिलिटेन्ट (सैन्य संगठन जस्तै) संगठन चाहिने भन्ने अवधारणाबाट कम्युनिस्टले क्याडर बेस्ड पार्टी बनाउने गरेका छन्। तर कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टी बदलिँदो परिवेशमा मास वेस्ड पार्टी नै बन्नुपर्ने मत छ, राजनीतिक विश्लेषक अनारसिंह कार्कीको।
अहिले पनि कांग्रेसका २ लाख ५७ हजार भन्दाबढी क्रियाशील सदस्य छन्। पछिल्लो महासमितिले पारित गरेको नयाँ विधानअनुसार भने कांग्रेसको सदस्य बन्न पहिलेको जस्तो जटिल व्यवस्था छैन, सजिलै बन्न सकिन्छ। तर, क्रियाशील सदस्य बन्ने प्रक्रिया अलि लामो छ।

एक वर्ष सदस्य भइसकेको व्यक्ति मात्रै कांग्रेसको क्रियाशील सदस्य हुन पाउँछ। यसअघि यसको समय दुई वर्ष थियो। दुई सय रुपैयाँ तिरेर क्रियाशील सदस्यताका लागि फारम भरी प्रमाणपत्र पाएपछि मात्रै कांग्रेसको क्रियाशील सदस्य भएको मानिन्छ।
क्रियाशील सदस्य बन्नेले पार्टीको सिद्धान्तलाई पूर्णरूपमा आत्मसात गर्नेछु भनी सपथ लिनुपर्छ। मासिक रुपमा पार्टीलाई लेबी बुझाउनुपर्छ। पार्टीले खटाएको ठाउँमा जान हरदम तयार रहनुपर्छ।
कांग्रेसका दुःख
प्रजातान्त्रिक पार्टी भएकाले सिद्धान्ततः कांग्रेस मास बेस्ड पार्टी नै बन्न चाहन्छ।
तर, केले रोकिरहेको छ त?
कांग्रेस नेता गुरुराज घिमिरे एउटा प्रजातान्त्रिक पार्टी मास वेस्ड नै हुनुपर्ने तर त्यसका केही कठिनाइ रहेको बताउँछन्। उनका अनुसार प्रतिस्पर्धी राजनीतिक पार्टी नेकपा अझै पनि क्याडर बेस्ड भएकाले कांग्रेस पूर्ण रूपमा मास बेस्ड प्रणालीमा जान सकेको छैन।
‘एउटा प्रजातान्त्रिक पार्टी हुनुपर्ने चाहिँ मास बेस्ड नै हो,’ नेता घिमिरेको भनाइ छ, ‘तर, हामी तत्कालै पूर्ण मास बेस्डमा जान सक्ने अवस्था छैन। हाम्रो मुख्य प्रतिस्पर्धी राजनीतिक पार्टी नेकपा क्याडर बेस्ड पार्टी हो। प्रतिस्पर्धी मास बेस्ड नहुँदा हामीलाई पनि पूर्ण मास बेस्ड हुन गाह्रो हुन्छ। नेकपाका अहिले पनि देशैभर संगठित कार्यकर्ता छन्।’
त्यसो भए कांग्रेससँग के विकल्प छ त? नेता घिमिरे महासमिति बैठकले संघीय संरचनालाई आत्मसात गरेको र त्यसै अनुकूलका संगठन बनाएर जाने बताउँछन्।
‘अहिले हामी न मास बेस्ड हौं, न क्याडर बेस्ड नै,’ उनले भने, ‘महासमिति बैठकपछि हामीले संघीय संरचनालाई आत्मसात गरेका छौं। अब त्यसै अनुकूलका हाम्रा संगठन बन्छन्।’
उनले अब १४औं महाधिवेशनसम्मका लागि अन्तरिम समितिहरू बन्ने र ती सबै निर्वाचित हुने बताए। त्यस्तै मेची-महाकाली जागरण अभियान चलाइने र त्यसमा सदस्यता वितरण प्रमुख लक्ष्य रहेको उनले बताए।

महासमिति बैठकमा महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले पेस गरेको सांगठनिक प्रतिवेदनमा पार्टीको सांगठनिक संरचनाबारे केही प्रस्ट्याइएको छैन। सदस्यता वितरण प्रणालीलाई भने केही आधुनिकीकरण गर्ने भनिएको छ।
प्रस्तावमा भनिएको छ, ‘महासमितिको बैठक लगत्तै राष्ट्रव्यापी रूपमा सदस्यता वितरण अभियान सञ्चालन गरिनेछ। अनलाइन प्रणालीबाट सदस्यता फारम वितरण अभियान सञ्चालन गरिनेछ। यसरी अभियान सञ्चालन गर्दा युवा, महिला, आदिवासी–जनजाति, दलित, मधेसी, थारू, खस-आर्य, अपाङ्गता भएका, अल्पसंख्यक एवम् पिछडिएको क्षेत्रलाई समेटिने छ।’
मास बेस्ड नहुँदा के हुन्छ?
खुल्ला राजनीतिमा आफ्नो सिद्धान्त र विचारलाई बल प्रयोग गरेर लागू गर्ने कुरामा विश्वास गरिँदैन। आम मानिसको समर्थन प्राप्त गर्ने कुरामा विश्वास गरिन्छ। त्यसैले मिलिटेन्ट संगठनको आवश्यकता पर्दैन। यस्तोमा नेतृत्व र नेतृत्ववर्गमा उच्च नैतिक आचरण, सिद्धान्तप्रतिको दृढता र इमान्दारिता आवश्यक हुन्छ।
खुल्ला राजनीति गर्ने र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी क्याडर बेस्ड हुनु आवश्यक नभएको विचार छ, राजनीतिक विश्लेषक कार्कीको। उनका अनुसार राजनीतिक पार्टी क्याडर बेस्ड हुँदा फाइदाभन्दा घाटा बढ्ता हुन्छ।
क्याडर बेस्ड पार्टी सत्तामा पुग्यो भने आफ्नै पार्टीका कार्यकर्ताको व्यवस्थापन र भरणपोषणमा व्यस्त हुनुपर्छ। जसले गर्दा सम्पूर्ण देश र जनताप्रति पर्याप्त ध्यान दिन नसकिने हुन्छ। देशको साधन-स्रोत कार्यकर्तामै बढी लगाउनुपर्ने भएकाले विकासमा धेरै ध्यान दिन नसकिने हुन्छ।
अनि मास बेस्ड हुँदा क्याडर बेस्ड पार्टीजस्तो पार्टीप्रति निर्भर कार्यकर्ताको संख्या धेरै नहुने भएकाले सत्तामा पुगेपछि पाटीभित्रको व्यवस्थापनमा अल्झिनु पर्दैन। देशको साधनस्रोतलाई कार्यकर्ता पाल्नमा लगाउनु नपर्ने हुनाले समग्र देशको विकासमा ध्यान पुर्याउन सकिन्छ।
माथि भनिएझैं खुल्ला राजनीतिमा आएपछि पनि पार्टी क्याडर बेस्ड नै रहँदा घाटा भएको महसुस राजनीतिक दलका नेताहरूले समेत गरेका छन्। अहिले सत्ता हाँकिरहेको दल नेकपा क्याडर बेस्ड पार्टी हो।
नेकपा प्रवक्ता समेत रहेका नेता नरायणकाजी श्रेष्ठ विभिन्न ठाउँमा भनसुन गरिदिनुपर्ने कार्यकर्ताको आग्रहले दिक्क छन्। गत मंसिर १५ गते ओशो तपोवनको कार्यक्रममा पुगेका श्रेष्ठले त्यो दिक्दारी यसरी पोखेका थिए।
'बिहानदेखि बेलुकासम्म कार्यकर्ता विभिन्न ठाउँमा भनसुनका लागि भेट्न आउँछन्। मैले, मेरो भाइले, छोराले, छोरीले शिक्षक सेवा आयोगमा जाँच दिएको छ, भनिदिनुपर्यो भन्छन्। जसरी पनि नाम निकाल्दिनु पर्यो भन्छन्। हुँदैन भन्दा यत्रो वर्ष पार्टीका लागि परिश्रम गरेको के काम त? भन्छन्। हामी त प्रणाली फेर्न पो लागेको भन्दा बाहिर गएर भन्छन्, यी बूढाले गरी खाँदैनन्।'

पोखरामा भएको नेपाल लिट्रेचर फेस्टिभलमा पनि नेता श्रेष्ठले त्यही कुरा दोहोर्याए। उनले पार्टीहरूमा राजनीतिक भ्रष्टाचार व्यापक रहेको र कामै नगरी विलासी जीवन बिताउने कार्यकर्ता रहँदासम्म देशले समृद्धिको लक्ष्य हाँसिल गर्न नसक्ने ठोकुवा गरे।
‘व्यापक भ्रष्टाचार राजनीतिक पार्टी र राज्य संयन्त्रमा छ,’ राजनीतिक नेता र पार्टी सम्बन्धी बहसमा नेता श्रेष्ठको भनाइ थियो, ‘नेपालका राजनीतिक पार्टीका धेरै नेता/कार्यकर्ताहरू विलासी जीवन बिताइरहेका छन्। ती दशौं हजार कार्यकर्ताहरू राज्यको वरिपरि रहँदासम्म जतिसुकै कुरा गरेपनि संमृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।’
नेता श्रेष्ठसँगै उक्त बहसमा सहभागी कांग्रेस नेता गगन थापाले पनि राजनीतिक दलमा भ्रष्टाचार संस्थागत भएको र त्यसको कारण पार्टीको संगठन संरचना भएको उल्लेख गरेका थिए। ‘नेपालका राजनीतिक दलहरूमा भ्रष्टाचार किन संस्थागत छ भने पार्टी सदस्यता पद्दतिले गर्दा,’ उनको भनाइ थियो, ‘जबसम्म पार्टी खुल्ला सदस्यतामा जाँदनैन्, लाखौं मानिसको मतदानबाट कांग्रेसको सभापति चुनिने परिपाटी नहुँदासम्म पार्टी भित्र सानो समूह बनाएर त्यो समूहको स्वार्थको बन्धक बन्ने अवस्था रहिरहन्छ।’
आर्थिक उर्पाजनको स्रोत
संगठित सदस्यहरू नेपालका राजनीतिक दलका आयस्रोत हुन्। उनीहरूको वार्षिक आय विवरणमा पार्टी कार्यकर्ताको सदस्यता नवीकरण र मासिक लेबीका रूपमा उठाइने दस्तुरको हिस्सा ठूलो देखिन्छ।
कांग्रेसमा अहिले २ लाख ५७ हजारभन्दा बढी क्रियाशील सदस्य छन्। कांग्रेस कोषाध्यक्ष सितादेवी यादवले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ करोड ५ लाख २९ हजार ६ सय ८६ रुपैयाँ कुल आम्दानी भएको थियो। यसमा पार्टी सदस्यको दस्तुर तथा नवीकरणबाट मात्रै १ करोड ९३ लाख ७० हजार ९ सय ५५ रुपैयाँ संकलन भएको उल्लेख थियो। बाँकी रकम चन्दा तथा सहयोगबाट संकलन भएको देखिन्छ।
यसरी हेर्दा संगठित सदस्यबाट ठूलै आर्थिक उर्पाजन हुने भएकाले पनि दलहरू कार्यकताविहीन भएर मास बेस्ड हुन नचाहेको देखिन्छ।
‘मास बेस्ड बन्न नसक्नु बाध्यता हो’
गुरुराज घिमिरे
नेता, नेपाली कांग्रेस
एउटा प्रजातान्त्रिक पार्टी हुनुपर्ने चाहिँ मास बेस्ड नै हो। तर, हामी तत्कालै पूर्ण मास बेस्डमा जान सकिने अवस्था छैन। हाम्रो प्रतिस्पर्धी राजनीतिक पार्टी पूर्ण मास बेस्ड नहुँदा हामीलाई पनि त्यसमा जान गाह्रो हुन्छ।
मास वेस्डमा जाने किन नजाने भन्ने कुरा देशको राजनीतिक परिस्थिति, सामाजिक अवस्थामा पनि निर्भर रहने रहेछ। नेकपा, जुन हाम्रो मुख्य प्रतिस्पर्धी राजनीतिक पार्टी हो, त्यो क्याडर बेस्ड पार्टी हो। उसका देशै भर संगठित कार्यकर्ता छन्।
यस्तोमा हामी मात्रै कार्यकर्ताविहीन भएर मास बेस्ड हुँदा राजनीतिक परिचालनमा समेत अप्ठ्यारो हुन्छ। यसले हाम्रो जस्तो राजनीतिक संस्कार भएको मुलुकमा चुनावमा समेत असर गर्छ।
अहिले हामी न मास बेस्ड हौं, न क्याडर वेस्ड नै। महासमिति बैठकपछि हामीले संघीय संरचनालाई आत्मसात गरेका छौं। अब त्यसै अनुकूलका हाम्रा संगठन बन्छन्।
पहिले सदस्यता दुई प्रकारका सदस्य थिए हाम्रा। एउटालाई हामी साधराण सदस्य भन्थ्यौं भने अर्कोलाई क्रियाशील। अब हामी साधरण सदस्य भन्न छोडेर सदस्य मात्रै भन्छौं। अब सदस्य भएको एक वर्षमा क्रियाशील सदस्य बन्न सकिन्छ। पहिले त्यसका लागि दुई वर्ष कुर्नुपर्थ्यो। अब हरेक वर्ष क्रियाशील सदस्य नवीकरण हुन्छ।
१४औं महाधिवेशनसम्मका लागि हामी संघीय संरचना अनुकूलका अन्तरिम समिति बनाएर जान्छौं। अन्तरिम समिति पनि निर्वाचित नै हुन्छन्।
हामी मेची-महाकाली जागरण अभियान चलाउँदै छौं। त्यसमा सदस्यता वितरण प्रमुख प्राथमिकता हुन्छ।
'महासमितिपछिकाे कांग्रेस' सम्बन्धमा नेपाल लाइभले शृंखलाबद्ध आलेख प्रकाशन गरिरहेकाे छ। यी हुन् यसअघि प्रकाशित विशेष सामाग्री:
महासमितिपछिको कांग्रेस-१ : हार्डवेयर बदल्यो, सफ्टवेयर पुरानै
महासमितिपछिकाे कांग्रेस-२ :हिन्दू राष्ट्र बोक्यो कि छाड्यो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।