काठमाडौ– लिगलाई फुटबल विकासको ‘मेरुदण्ड’ मानिन्छ। दुर्भाग्य, नेपाली फुटबल दुई वर्षदेखि ‘मेरुदण्डविहीन’ छ। लिग हुन नसक्दा प्रतिभा पलायन हुने समस्या मात्र होइन, नयाँ प्रतिभाको समेत खोजी हुन सकिरहेको छैन। दुई वर्षको तथ्याङ्क हेर्दा नेपालको राष्ट्रिय फुटबल टोलीमा नयाँ खेलाडीको आगमन शून्यप्राय छ। भएका राष्ट्रिय फुटबल खेलाडी पनि कामको खोजीमा विदेशीने क्रम बढ्दो छ।
यो साता नेपाली फुटबललाई तरंगित गर्ने एक सुखद खबर बाहिरियो। नेपाली आर्मीका जर्जप्रिन्स कार्की पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भए। नियमित कप्तान अनिल गुरुङको स्थान लिएका कार्कीले मंगलबार ताजकिस्तानविरुद्ध खेलमा सम्भवत डेब्यु गर्नेछन्। ७ नम्बरको जर्सीमा मैदानमा उत्रिने कार्की पहिलो खेलका लागि जति उत्साहित छन्, त्यति नै नर्भस पनि।
‘नेपालको राष्ट्रिय टोलीमा पर्ने मेरो सपना पूरा भएकोमा उत्साहित छु,' कार्कीले नेपाल लाइभसँग भने, ‘पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता भएर होला नर्भस पनि छु।’ यो त खेलअघिको कुरा भयो। मैदानभित्र छिर्ने मौका पाइहाले आफूलाई प्रमाणित गर्नेमा दृढ छन्, नेपाली सेनाका २३ वर्षीय लेफ्टिनेन्ट कार्की।
राष्ट्रिय टोलीमा पहिलोपटक मौका पाएका कार्की कुनै एकेडेमीका उत्पादन होइनन्। दृढ इच्छाशक्ति र मेहनतबाट खारिएका फरवार्ड हुन्। काभ्रे जिल्ला धुलिखेल नगरपालिका–१२ शंखुका स्थानीयवासी कार्कीले स्कुल पढ्दासम्म फुटबलका ठूला मैदान देख्न पाएका थिएनन्। घर वरपरका साना चौरमा अन्य बालकझैं मनोरञ्जनका लागि फुटबल खेल्थे। ‘स्कुल पढ्दासम्म फुटबलको वास्तविक मैदान कत्रो हुन्छ भन्ने देख्न पाइनँ,’ कार्कीले बाल्यकाल सम्झे। स्कुले जीवनमा पढाइमा अब्बल कार्कीका लागि फुटबल दोस्रो रोजाइको विषय थियो ।
सन् २००५ नेपालमा आयोजना भएको एएफसी प्रेसिटेन्ड कप टेलिभिजनमा हेरेपछि कार्कीलाई फुटबलर बन्ने मोह जाग्यो। तर उनले आफ्नो इच्छा कसैलाई व्यक्त गर्न चाहेनन्। ‘धेरै मानिसले लाइभ हेरेर फुटबलरको प्रसंसा गरेको देखेपछि फुटबलर बन्ने इच्छा जाग्यो,’ कार्की भन्छन्।
२०६४ सालमा १५ वर्षको उमेरमा एसएलसी पास गरेपछि काठमाडौं आएका कार्कीले पहिलोपटक ठूलो मैदान देखेका थिए। लिटिल एञ्जल्स कलेजको मैदानमा प्रतिस्पर्धामा उत्रने कार्कीको चाहना भने पूरा हुन सकेन।
उनी त्यतिबेला कलेजको टोलीमा पर्न नसक्नुको एकमात्र कारण थियो, उनको उचाइ। शारीरिक कारणले टोलीमा पर्न नसकेपछि उनी बास्केटबल र पौडी खेल्न थाले। ‘यसपछि मेरो हाइट बढ्न थाल्यो,’ कार्कीले सुनाए। बास्केटबलमा पोख्त कार्कीले बास्केटबलको राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए। तर, उनको फुटबल मोह भने कायमै रहयो। तर कुनै टोलीले उनलाई पत्याइरहेका थिएनन्।
खेल्ने चहाना पूरा नभएपछि कार्कीले आफू पढेको स्कुल ‘डिभाइन लाइट’का विद्यार्थीलाई फुटबल सिकाउन थाले। ‘स्कुलका विद्यार्थीलाई सिकाउँदा आफू पनि खेल्थे,’ कार्की भन्छन्, ‘त्यतिबेला मैले सुट प्रहार गर्न कैयौंपटक आफै सिके होला।’

स्कुलका विद्यार्थीलाई बनेपामा मैत्रीपूर्ण खेल खेलाउन आउँदा कार्कीले स्थानीय क्लब बनेपा ब्वाइज क्लबलाई प्रभावित पारे। कार्कीलाई पहिलोपटक टोलीबाट खेल्ने प्रस्ताव आयो। कार्कीले बनेपाबाट २०६८ सालमा ‘सी’ डिभिजनको छनोट खेल्दै पहिलोपटक व्यावसायिक फुटबलमा पाइला टेके। बनेपा ‘सी’ डिभिजनमा छनोट हुन त सकेन, तर कार्कीले २ खेलमा ३ गोल गर्दै सबैलाई प्रभावित पारे। लगत्तै काभ्रे जिल्ला लिगमा बनेपाबाट खेलेका कार्कीले उत्कृष्ट खेलाडीको अवार्ड जिते।
जिल्लामा उत्कृष्ट प्रदर्शन गरेपछि कार्कीलाई कलेजको टोलीमा पर्न गाह्रो भएन। जेभियर कलेजबाट उनले कलेज स्तरीय प्रतियोगिता खेले। उत्कृष्ट खेलाडीको अवार्ड पनि पाए। कलेजबाट खेल्दा प्रशिक्षक अनिल नेपालीले कार्कीलाई राष्ट्रिय खेलाडी बन्न अनेकौं टिप्स दिए।
२०७० सालमा उनी ‘ए’ डिभिजन क्लबमा ट्रायल दिन धाउन थाले। आर्मीमा ट्रायलका लागि गएका कार्की अन्तिम समयमा फालिए। ‘आर्मीमा ट्रायल राम्रो भएको थियो, तर के गर्नु फेरि मलाई शरीरले धोका दियो,’ कार्की आफ्नो संघर्षको कथा सुनाउँछन्। आर्मीका औसत खेलाडी पनि शारीरिक रुपमा बलियो र फिट हुन्छन्।
आर्मीको ट्रायलमा पास हुन नसके पनि तत्काल निराश भइहाल्नुपर्ने कारण थिएन। उनको फुटबल प्रतिको लगाव देखेर आर्मीले नै उनलाई फ्रेन्ड्स क्लबका लागि ‘रिफर’ गरेको थियो। उनले त्यतिबेला लिग सुरु भइसकेको अवस्थामा फ्रेन्ड्सबाट अन्तिम दुई खेल मात्र खेल्न पाए।
शरीर फुटबलको बाधक बनेपछि कार्कीले निर्णय लिए- ज्यान बनाउने। नियमित जिम गए, व्यायाम गरे। ठूलो मेहनतपछि कार्कीले बलिष्ठ ज्यान बनाए। ‘उद्देश्य प्राप्तिका लागि परिश्रम गर्नुपर्छ त्यसैले मैले कहिल्यै परिश्रम गर्न हिचकिचाइनँ,’ कार्कीले भने।
रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका फ्यान कार्कीले अहिले उनकै जस्तै बलिष्ठ शरीर बनाएका छन्। जसले उनको खेल करियरमा ठूलै फाइदा पुगेको छ।
‘मैले मेहनत गर्न रोनाल्डोबाट सिकेको हूँ,’ कार्कीले भने, ‘हामी रोनाल्डोको लोकप्रियता मात्र सुन्छौ। उनले सफल बन्न धेरै परिश्रम गरेका छन्।’ बलिष्ठ ज्यान हुँदा आत्मविश्वास बढ्ने मात्र होइन, खेल्दा चोटपटक लाग्ने सम्भावना पनि कम हुने ठम्याइ छ, कार्कीको।
शरीर बनाएपछि कार्कीले नेपाली सेनामा भर्ना हुन तयारी थाले। ‘मेरो पारिवारिक पृष्ठभूमि पनि सेना हो,’ नेपाली सेनामा भर्ना हुनुको उद्देश्यबारे कार्की भन्छन्, ‘देशको सेवासँगै फुटबल खेल्न पाइने भएकाले सेना रोजेको हूँ।’
पढाइमा अब्बल कार्की शरीरिक रुपमा पनि फिट भएपछि २०७२ सालमा सिधै सेनामा छनोट भए। अझ, उनले उत्कृष्ट भएबापत भारतमा सेनाको तालिम लिने अवसर पाए। भारतमा सेनाको प्रशिक्षण लिने क्रममा कार्कीले फुटबलमा थप कला सिक्ने मौका पाए।
‘तालिमको दौरान आन्तरिक फुटबल प्रतिस्पर्धा हुन्थ्यो,’ कार्की भन्छन्, ‘आई लिग टोलीमा आबद्ध भइसकेका प्रशिक्षकले फुटबल सिकाउने हुँदा कमजोरी सुधार्ने मौका पाए।’ भारत रहँदा कार्कीको खेलबारे तालिम केन्द्र भरी नै चर्चा चल्थ्यो।
गत वर्ष उनी भारतबाटै पासआउट भएर नेपाल फर्के। लगत्तै उनलाई त्रिभुवन आर्मी क्लबको फुटबल टोलीमा प्रशिक्षणका लागि बोलाइयो।
गत चैतमा सर्लाहीमा भएको राजश्री कपमा कार्कीले आर्मी टोलीबाट ‘डेब्यु’ गरे। खेल सकिन २० मिनेट बाँकी छँदा मैदान छिरेका कार्कीले ‘डेब्यु’ मै सरस्वती युवा क्लबविरुद्ध २ गोल गरे। प्रतियोगितामा ३ गोल गरेका कार्की प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बने। लगत्तै उनी वीरगञ्जमा आयोजना भएको विशाल मेमोरियल कप आर्मीले जित्दा ३ खेलमा ४ गोल गर्दै उत्कृष्ट फरवार्ड भए। उनले फाइनलमा संकटाविरुद्ध २ गोल गरेका थिए।
यसपछि उनलाई राष्ट्रिय टोलीका लागि ढोका खुल्यो। यमनविरुद्ध अघिल्लो खेलमा उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्। तर, ताजकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि उनलाई पहिलो पल्ट बन्द प्रशिक्षणमा बोलाइयो।
बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेसँगै कार्की जापानी प्रशिक्षक ग्योतोकु कोजीको आँखामा पर्न सफल भएका छन्। राष्ट्रिय टोलीमा स्थान बनाएका कार्की लामो प्रहार गर्न माहिर मानिन्छन। तीव्र गतिमा खेल्न सक्नु कार्कीको अर्काे क्षमता हो।
‘राष्ट्रिय टोलीमा पर्ने मेरो सपना पूरा भएको छ’ कार्की भन्छन्, ‘अब आफूलाई प्रमाणित गर्ने बेला आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।